वनपाखाहरुमा लालिगुराँस फूलेपछि म्याग्दीको पर्यटकीय क्षेत्रका गाउँवस्तीहरु रमणीय र सुन्दर देखिन थालेका छन । जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र घोडेपानी, पुनहिल तथा राम्चेको फुलबारीको जंगलमा ढकमक्क लालिगुराँस फूलेपछि गाउँहरु पनि सुन्दर देखिएका र ती गाउँहरुमा पुग्ने पर्यटकहरु रमाउने गरेका छन् ।

गुराँसे जंगलमा हिउँ नपग्लिएपनि विभिन्न प्रजातिका गुराँसले वनपाखाहरुको सौन्दर्यतामा समेत निखार आएकोले अहिले लालीगुराँस फूलेका ठाउँहरु हुँदै ओहोरदोहोर गर्ने विदेशी पर्यटकहरु पनि आकर्षित भएका छन् । घोडेपानीमा पुगेका पर्यटकहरु यो सिजनमा लालिगुराँसका जंगलहरु डुल्दै आनन्द लिने गरेका छन् । विभिन्न १९ प्रजातिका लालीगुराँस पाइने घोडेपानी यतिवेला राताम्मे देखिएको छ ।

निलो रङका घरहरु भएको घोडेपानीमा राता, गुलावी र सेता रङ्का लालिगुराँसहरु ढकमक्क फूलेपछि सुन्दर घोडेपानीको सौन्दर्यतामा अझै वृद्धि स्थानीय पर्यटन ब्यवसायीको भनाई छ । विश्वकै ठुलो लालिगुँरासको जंगल भनेर दावी गरिएको घोडेपानीको क्षेत्रमा पर्ने बनमा रहेको लालिगुराँस संरक्षण गर्न एक्यास, पर्यटन ब्यवसायी, आमा समुह लगाएत अन्य संघसंस्थाले समेत चासो देखाइरहेका छन । चैत्रको दोस्रो सातामै गुराँसले बनपाखा राताम्मे भएका छन् ।

गुराँसे जंगल हुदै म्याग्दीमा प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, गाउँपालिका अध्यक्ष डम बहादुर पुन, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक महेन्दप्रसाद मरासनी, अनुसन्धान अधिकृत विष्णु पन्डित लगाएतको टोली घोडेपानी, महरेडाँडा लगाएतका पर्यटकीय बस्तीमा पुगेका छन् । लालीगुराँसले ग्रामिण सौन्दर्यतालाई त वढाएको छ नै,गाउँका वासिन्दाहरुको आयआर्जनमा समेत सघाइरहेको छ । लालिगुराँस फूलेसंगै गाउँ वस्तीहरु सुन्दर देखिनुका साथै पर्यटकको संख्या पनि वढ्ने र ग्रामिण महिलाहरुको आयआर्जनमा समेत वृद्धि हुने स्थानीयको भनाई छ ।

गुँरासको जंगलभित्रबाट धौलागिरी हिमाल सहित अन्य हिमश्रंखलाहरुको देख्न सकिन्छ । लालिगुराँस आर्युवेदिक औषधी वनाउनका लागि कच्चा पदार्थको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । घाँटीमा माछाको काँडा अड्कियो भने लालीगुराँस चपाउँदा निको हुने आर्युवेदिक चिकित्सकहरुको भनाई छ । त्यसैगरी रक्तअल्पता, नसा र पेटका समस्याभएकाहरुलाई समेत लालिगुराँसको फूल सेवन गर्दा फाइदा पुग्ने वताइन्छ । ग्रामिण क्षेत्रमा सडक विस्तार संगै काठ चोरी निकासी बढिरहेको बेलामा वहुउपयोगि लालीगुराँसका जंगलहरुको संरक्षणमा सम्बन्धित निकायले चसो देखाउनुपर्ने देखिन्छ । तस्वीर सौजन्य सुरेन गुरूङ

Leave a Reply