काठमाण्डौमा जारी लगानी सम्मेलनमा म्याग्दीमा बन्ने कालिगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी आउने पक्का भएको छ । शनिबार  हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र यूनान सिन्ह्वा वाटर कम्पनीबीच लगानी सम्बन्धि समझदारीमा हस्ताक्षर भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा अलपत्र अवस्थामा रहेको १ सय ६४ मेगावाटको जलविद्युत आयोजना चाइना न्यूक्लियर पावर ग्रुप अन्तरगत यूनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावले बनाउन भएको हो ।

लगानी सम्मेलनमा आर्कषक आयोजनाको रुपमा रहेको कालिगण्डकी गर्ज नारच्याङ सहित आसपासका क्षेत्रमा जग्गा अधिग्रहण सहित केही काम गरेपनि लगानीको अभावका कारण एकदशक  अगाडी नै सुरु हुन्ुपर्ने योजना अलपत्र अवस्थामा रहेको थियो । आयोजनालाई तिब्रता दिन चाइनिज कम्पनीले कालिगण्डकी गर्जमा ८० प्रतिशतसम्म लगानी गर्नेछ । जिल्लामा जलविद्युतको हव भनेर समेत चिनिने नारच्याङ आयोजनाको नाममा जग्गा समेत रहेको छ।

म्याग्दी र मुस्ताङ भएर बग्ने कालिगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्न २०६३ सालमा आयोजनाको सर्वेक्षण भएको थियो । लामो समयदेखि प्रतीक्षामा रहेको कालीगण्डकी गर्जमा चिनीयाँ लगानी भित्रिन लागेको हो । २०६८ पुष १९ गते उत्पादन लाइसेन्सका लागि विद्युत विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्द भएको थियो । पुरानो लाइसेन्स रद्द भएपछि नेपाल कालिगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएपछि चिनियाँ कम्पनीले लगानीमा चासो देखाएको थियो ।

छिमेकी जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । पाँच किलोमिटर सुरुङ रहनेछ । आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँ मुआब्जा दिएर ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको नदीको बहावमा आधारित ९रन अफ दी रिभर० आयोजनालाई अर्धजलाशययुक्त ९पिकिङ० बनाउने तयारी भएको उनले सुनाए । चिनियाँ कम्पनीसँगको सम्झौतापछि आयोजनाको क्षमता र खाका निर्धारण हुने भएको छ ।लगानी सम्झौतापछि सन् २०१९ को अन्तिमसम्म निर्माणपूर्वको काम सम्पन्न गरी ५ वर्षमा सक्ने कम्पनीको योजना छ ।