राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित पत्रकार भेटघाट र पार्टीका कार्यकर्ताहरुसँग अन्तत्र्रिया गरिएको हो ।

पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री तथा राप्रपाका मनोनित केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले सङ्घीयताले जनतामा आर्थिक भार बढाएको बताए । उनले देशमा महङ्गी तथा भ्रष्टाचार बढेको, शान्तिसुरक्षा नभएको र बाह्य हस्तक्षेप बढेकाले राप्रपाले आन्दोलनको थालनी गरेको बताउँदै दुई तिहाइको सरकार आएपछि तराई छुट्टै देशका रुपमा उदाएको जस्ता आवाज सुनिएको बताएका छन् ।

उनले नेपाल पनि सिक्कीमीकरणमा जान लागेको बताउँदै कुनै पनि देशलाई विभाजनमा लैजानुपूर्व त्यहाँ धर्म नष्ट गराउने र राष्ट्रियता कमजोर बनाउने खेल हुने भन्दै नेपालमा धर्मनिरपेक्षता र हिन्दुराष्ट्रका विषयमा जनमत सङ्ग्रह हुनुपर्ने माग गरे । उनले सबै धर्मप्रति समान धारणा रहेको भन्दै कुनै पनि प्रलोभनमा पारेर धर्म नै परिवर्तन गराउने खेल राप्रपालाई मान्य नहुने चेतावनी दिए ।

सरकारले सिके राउतसँग गरेको सहमतिलाई सतर्कतापूर्वक समर्थन गरिएको बताउँदै विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउनु गलत भएको उनले आरोप लगाए ।उपाध्यक्ष गौचनले विप्लवमाथि प्रतिबन्ध लगाउनुभन्दा पनि राजनीतिक तवरबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले देशभित्रै विनियोजन भएको बजेटको पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा हालै सकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन ‘नाटक’ भएको टिप्पणी गरे ।

स्थानीय सरकारको गतिविधि र कामकार्वाही अत्यन्तै फितलो भएको हुँदा त्यसमाथि अब राप्रपाले दह्रो प्रतिपक्षको भूमिका प्रदर्शन गर्ने उनको भनाइ छ ।गएको फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले १५ गते पूर्वको तेह्रथुमबाट हिन्दु जनजागरण तथा मेची–महाकाली स्वाभिमान यात्रा सुरु गरेको थियो ।

यसैगरी चैत १ गते काठमाडौंमा पहिलो चरणको कार्यक्रमको समापन, १२ देखि १६ सम्म २२ बुँदे कार्यक्रमको प्रचारप्रसार, चैत १७ गतेदेखि २३ गतेसम्म हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि हस्ताक्षर सङ्कलन, २८ गते स्थानीय तहमा धर्ना, बैशाख ५ गते धर्मनिरपेक्षता लेखिएका व्यानर तथा प्लेकार्ड जलाउने र ८ गते राजमार्गमा सत्याग्रह बस्ने कार्यक्रम रहेको राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाले जानकारी दिए ।

सरकारले आफ्नो पार्टीले उठाएको मागको सुनुवाई नगरे तेस्रो चरणको अझै कडा आन्दोलन गर्ने उनले बताएका छन् ।राप्रपा पार्टीका बिचमा पार्टी एकताको कुराकानी भैरहेको हुँदा पार्टी एकता हुने उपाध्यक्ष गौचनले बताए । यसैबीच कार्यक्रमको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय उपाध्यक्ष पदमा हालै मनोनित भएका पूर्वराज्यमन्त्री गौचनलाई पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुले अबिर र खादा लगाई शुभकामना दिएका थिए ।

Leave a Reply