चीन सरकारले गण्डकी प्रदेशमा नौविसेदेखि पोखराजोड्ने पृथ्वी राजमार्ग र पोखरा–बागलुङ जोड्ने भूपी शेरचन राजमार्ग पछि दोस्रो ठूलो लगानी कालीगण्डकी गर्जमा गर्ने भएको छ । गण्डकी प्रदेशको म्याग्दीमा निर्माणाधीन १ सय ६४ मेघावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत परियोजनाको लागि चीनले ४२ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो।

काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनले मुस्ताङको धसाङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बन्ने यो परियोजनाको लागि ४२ अर्ब रुपैयाँ लगानी जुटाएको हो । लगानीको लागि तीनवटै पक्षबीच सम्झौता पनि भइसकेको छ ।
युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेस्टमेण्ट, नेपालकै हाइड्रो सोलुसन प्रालि र अर्को चिनिया साझेदार सांघाई इन्भेस्टमेण्ट,डिजाइन रिसर्च इन्स्टिच्युसन प्रालिले यो परियोजामा लगानी गर्ने भएका हुन् ।

युनान सिन्हवा चीनको सरकारी स्वामित्वको चाइना न्यूक्लियर ग्रुुपमा आवद्ध कम्पनी हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै बेला यो कम्पनीले कालीगण्डकी गर्ज जलविद्युत परियोजनामा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । लगानी सम्मेलनको बेला पारेर परियोजनामा चिनिया लगानी भित्र्याइएको हो ।

हाइड्रो सोलुसन प्रालिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानका अनुसार यो परियोजनामा चिनिया पक्षको करिब ८० प्रतिशत लगानी रहनेछ । निर्माण, स्वामित्व ग्रहण, संचालन र हस्तान्तरण ( बुट) अवधारणामा निर्माण हुने यो परियोजनाको बिस्तृत परियोजना रिपार्ट ( डिपिआर ) तयार भइसकेको छ । रन अफ रिभर अर्थात बहेको पानीबाट बिजुली निकालिने यो परियोजनाको लागि करिब २ सय रोपनी जग्गा खरिद भइसकेको छ भने परियोजना निर्माणस्थलसम्म जाने बाटो पहिल्यै बनाएको छ ।

यसैगरी परियोजनाको लागि १ सय ५५ किलोमिटर लामो प्रशारण लाइन बनाउने सम्झौता पनि भएको हाइड्रो सोलुसनले जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद संझौता हुने चरणमा रहेको यो परियोजनाको प्रस्तावनापत्रमा उल्लेख गरिएको छ ।हाइड्रो सोलुसनले करिब ८ वर्षमा परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर, वैदेशिक लगानी भित्रने प्रक्रिया सहज बन्यो भने तोकिएको समयभन्दा धेरै छिटो परियोजनाले गति लिने पनि कम्पनीको भनाई छ ।

यो परियोजना हाल नेपालमा संचालनमा रहेका विद्युत परियोजनामध्ये सबैभन्दा ठूलो हो । यद्यपी,निर्माणाधीन बूढीगण्डकी, कर्णाली, अरुणको विद्युत उत्पादन क्षमता यो परियोजनाकोभन्दा बढी रहेको छ । यो परियोजनाबाट उत्पादित बिजुली दानामा रहेको विद्युत प्राधिकरणसको सवस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।
अहिले नेपालको कूल विद्युत उत्पादन वर्षायाममा ७ सय ७० मेघावाट र हिउँदमा करिब ४ सय ५ मेघावाट रहेको । उत्पादितमध्ये गण्डकी प्रदेशको योगदान ५२ प्रतिशत रहेको छ । यो प्रदेशबाट आउँदो तीनवर्षमा थप ३ सय मेघावाट विजुली थपिने तथा करिब ६ सय मेघावाटका योजा तर्जुमा हुँदै गरेको उर्जा मन्त्रालयको विद्युत विकास महाशाखाले जनाएको छ ।

प्रदेशमा १ सय ४४ मेघावाटको कालीगण्डकी विद्युत आयोजनासहित १५ वटा विभिन्न परियोजनाहरु संचालनमा रहेका छन् । यसैगरी १ मेघावाटभन्दा माथिका ३४, एक मेघावाटभन्दा कममा ४ वटा परियोजनाले संचालन स्वीकृति लिएका छन् भने ५२ वटा परियोजनाहरु विद्युत उत्पादनको स्वीकृति लिएर बसेका छन् ।

गण्डकी प्रदेशबाट ११ वटा परियोजनाहरु लगानी सम्मेलनमा प्रस्तुत गरिए पनि निजी क्षेत्रबाट प्रस्तुत कालीगण्डकी विद्युत आयोजनाले मात्र वैदेशिक लगानी भित्र्याउन सफल भएको हो ।५४ मेघावाटको कालीगण्डकी परियोजनाको लागि लगानी जुटेन । बरु, हेम्जामा बन्ने एकिकृत कृषि पूर्वाधार परियोजनाको लागि भने आवेदन परेको लगानी बोर्डले जनाएको छ । कुन कम्पनीले कस्ता सर्तमा आवेदन पेश ग¥यो भन्ने सरकारले सार्वजनिक गरेको छैन ।

सरकारकोतर्फबाट गण्डकी प्रदेशलाई लक्षित गरी गण्डकी प्राविधिक विश्वविद्यालय, हेम्जामा एकिकृत कृषि परियोजना संचालन,काठमाण्डौं–पोखरा– लुम्बिनी रेल÷विद्युतीय रेल, तालतलैया पर्यटन परियोजना,मनाङमा स्कि रिसोर्ट, दमौली बहुउदेश्यीय पर्यटन परियोजना र निजी क्षेत्रले मध्य कालीगण्डकी, कालीगण्डकी गर्ज र म्याग्दीखोला जलविद्युत र अन्नपूर्ण सिक्लेस केवलकार परियोजना अगाडि सारेको थियो ।कालीगण्डकी गर्ज जलविद्युत परियोजनामार्फत गण्डकी प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी भित्रँदै गर्दा यसलाई गण्डकी प्रदेशमा चीनको बढ्दो चासोको रुपमा अथ्र्याइएको छ ।

पृथ्वी र भूपि शेरचन राजमार्ग बनाएपछि सम्भवत् चीन यति ठूलो लगानीसहित यो प्रदेशमा आउन थालेको हो । बूढीगण्डकी चीनको गेजुवाले पाएको भएचाहिँ त्यो नै ठूलो परियोजना हुने थियो । त्यसो त, यतिबेला पोखरामा चिनिया सहयोगमा नै पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्दैछ । चिनियाँहरुको चहलपहल बढ्दै गएपछि पोखराले चीनको लिञ्जी, कुन्मिनलगायतका नगरहरुसँग भगिनी सम्बन्ध पनि गाँसेको छ ।

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका मेयर मानबहादुर जिसीले केही महिनाअघि छुट्टाछुट्टै रुपमा चीनको भ्रमण समेत गरेका थिए । यसका साथै , प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा एक प्रतिनिधिमण्डललाई हाइनानको भ्रमण गराएर चीनले यो क्षेत्रमा आफ्नो चासो रहेको प्रमाणित पनि गरेको छ । मूख्यमन्त्रीको भ्रमणपछि हाइनान प्रान्तले गण्डकी प्रदेशलाई उन्नत गाई फार्म स्थापना तथा यहाँका दुईजना विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिने सहमति गरेको छ ।

सहमति अनुसार गाई फार्म स्थापना र विद्यार्थी पठाउने तयारी थालिएको छ । सामरिक रुपले तिब्बतसँग नजिक रहेको र तिब्बती सरणार्थी शिविर यहाँ भएकोले पनि चीनको चासो यो क्षेत्रमा बढेको हो । त्यसो त, चीनकै सहयोगमा पोखराको रंगशाला बनाउने घोषणा गरिए पनि अन्ततः रंगशाला निर्माण भारतीय कम्पनीलाई दिइएको थियो । मुस्ताङमा हावाबाट बिजुली निकाल्ने परियोजनाको पनि चिनिया टोलीबाट अध्ययन गरिएको छ ।

चिनियाँ चासो बढेसँगै यहाँ आउने चिनिया पर्यटकहरुको संख्या पनि बढेको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा मात्र आधा दर्जन हाराहारीमा चिनियाँ खाना पस्कने रेष्टुरेण्ट सञ्चालनमा आएका छन् । ‘चिनियाँको आवागमनसँगै यहाँका क्यूरियो सपदेखि रेष्टुरेष्ट र होटलहरुले चिनियाँ भाषामै आफ्नो प्रचार थालेका छन्, मेनु बनाएका छन्’, पर्यटन व्यवसायी सोम थापाले भने, ‘छोटो पदयात्रा मार्गमा जान रुचाउने चिनियाँहरुको लागि पदयात्राको जानकारी पनि उतैको ९ चाइनिज भाषामा नै बनाउन थालिएको छ । ’