४० मेगावाटको राहुघाट विद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण लगानीमा जिल्लाको रघुगंगा गार्उपालिकाको वडा नं ३ मा निर्माण हुन लागेको आयोजनाको प्राधिकरण्को तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र रघुगंगा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रमुख श्रीराम पाण्डेले पिपिएमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आयोजनाबाट सुख्खायाम (मंसिर १६ देखि जेठ १५ सम्म) प्रति यूनिट ८.४० रुपैयाँ र १०.५५ रुपैयाँ सम्म र बर्षायाम (जेठ १६ देखि मंसिर १५ सम्म) प्रति यूनिट४.८० रुपैयाँमा खरिद गर्ने सम्झौता भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका बरिष्ठ सहायक दिपरमण अधिकारीले बताए । सोमबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाले बार्षिक कुल २४ करोड २ लाख ३२ हजार यूनिट विद्युत खरिद गर्ने जनाइएको छ ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ मा अलपत्र अवस्थामा रहेको आयोजना सन् २०२३ साल पुष महिनामा ब्यवसायीक उत्पादनको लक्ष्य सहित भारतीय जयप्रकाश एशोसियसनलाई सभिल र हाइड्रो मेकानिकलको ठेक्का दिएसंगै ठेकेदारले आयोजनास्थलमा जनशक्ती परिचालन गरी काम सुरू गरेको रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देशक गोपाल पाठकले बताए । उनका अनुसार विगतमा भारतीय कम्पनीले सम्झौता अनुसार काम नगर्दा आयोजना धेरै पछि परेको बताउँदै नयाँ मोडलमा सुरु गरिएकाले आयोजनाले तिब्रता लिने दावी गरे ।

उनले हालसम्म आयोजनाको १२ प्रतिशत भौतिक प्रगति रहको बताउँदै अर्धजलासाययुक्त आयोजनाम पिक समयमा ४ देखि ५ घण्टासम्म पानी सङ्कलन गर्न सकिने भएकाले पनि प्राधिकरणले बनाउँदै गरेका आयोजनामा सस्तो मध्येमा पर्ने बताए । आयोजनास्थलमा प्राधिकरण र ठेकेदारको तर्फबाट करिव ३ सय जनशक्ती परिचालन गरिएको छ । रघुगंगाको झिँ र दग्नामको सिमानामा बुक्लमा १८ मिटर उचाईको बाँध रहने आयोजनाको ६.२ किमी लामो सुरूङ रहने आयोजनाको कुल लागत ८ अर्व ६० करोड अनुमान गरिएको छ ।

२०६६ साल देखि निर्माणको काम सुरु भएपनि अलपत्र पर्दा आयोजनाको पहिलो चरणमा ७ अर्ब रुपैया सहुलियतमा ऋणमा सम्झौता गरिएपनि ठेकेदार र प्राधिकरणको लापरवाहीका कारण कुल लागतमा करिव १ अर्व ८० करोड थपिएको छ । एक्जिम बैकले आवश्यकता अनुसार सहुलियतमा ऋण उपलब्ध गराउने बताएपनि मुख्य ठेकेदारमा भारतीय नै हुनुपर्ने सर्त राखेपछि भारतीय ठेकेदारले मनोमानी गर्ने गरेका छन् ।