म्याग्दीको दुर्गम गाउँमा रहेको एक विद्यालयमा पुस्तकालय स्थापना गर्ने असिभयान सुरु गरिएको छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नं २ लम्सुङमा अवस्थित लम्सुङ माविमा पुस्तकालय स्थापनाको अभियानले तिब्रता पाएको हो । पुस्तकालयको अभावमा विद्यार्थीमा नियमित पढ्ने बानीको विकास संगै शैक्षिक गतिविधिलाई निरन्तर सञ्चालनमा समस्या भएपछि बेनी नगरपालिका वडा नं १ अर्जम घर भई हाल मलेसियामा रहेका आशिष परियार, धादिङ जिल्लाकी रुबिना अधिकारी र सिन्धुपाल्चोककी सामाजिक अभियान्ता बविता योनजनको पहलमा पुस्तक स्थापनाको अभियान सुरू गरिएको हो ।

अभियानमा पुस्तक संकलन गर्न २२ हजार जुटेको अभियानका सदस्य परियारले बेनीअनलाइनलाई बताए । उनका अनुसार बेनपा १ रत्नेचौरका कृष्णविष्णु बोगटी ११ हजार, राजु लिम्बु पाँचथर २७ सय, बेनपा २ ज्यामरुककोटका सजिब बोहोरा २७ सय, बेनपा २ बगरफाँट का पूर्ण घिमिरे २७ सय, भोजपुर दलगाउँका भुपाल मगर १४ सय र नवरपरासीका अभिषक चौधरीले १६ सय सहयोग गरेका छन् ।

पुस्तकालय अभियानमा संकलित आर्थिकले पुस्तक सहित आवश्यक संरचना बनाइने छ ।दैनिक एक घण्टा पुस्तकालयमा जाने, पढाईस्तर अनुसारका पुस्तक छनौट गर्ने लगाएत विभिन्न योजनाहरूलाई प्रयोगमा ल्याउन सकिएमा विद्यार्थीको पढाईमा सुधार आउने छ । यसअगाडी सोही विद्यालयमा गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङले प्लान नेपालसँगको सहकार्य र रुम टु रिडबाट समेत पुस्तक सहयोग गरिएपनि संरचना र् आवश्यक ज्ञानको अभावमा पुस्तक प्रयोगमा ल्याउन सकिएको थिए ।

पाठ्यक्रममा आधारित पुस्तकमा मात्रै निर्भर हुने विद्यार्थीलाई अतिरिक्त ज्ञान सहितको पुस्तक तथा पठन संस्कृतिको विकास गर्ने गरी अन्तराष्ट्रिय मापदण्ड अनुसार पुस्तकालय सञ्चालन गर्न सकिएमा विद्यार्थीको शैक्षिक गुणस्तर बढ्ने धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । उनले गाउँपालिका भित्र अधिकांस विद्यालयमा पुस्तकालय भएपनि ब्यवस्थित गर्न नियमित तालिम सहित आवश्यकता अनुसारका पुस्तक थप गर्नुपर्ने बताए ।

Leave a Reply