रघुगंगा गाउँपालिका–७, चिमखोलामा आयोजित दुईदिने बृहत तथा एकीकृत घुम्ती शिविरबाट ८६ नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना र रघुगंगा गाउँपालिकाको समन्वयमा दुर्गम तथा ग्रामीण भेगका सर्वसाधारणलाई घरदैलोमै सरकारी सेवासुविधा उपलब्ध गराउन बिहिबारदेखि सुरु भएको शिविरमा नयाँ नागरिकता ५५ र ३१ प्रतिलिपी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।उनका अनुसार शिविरमा दग्नाम, चिमखोला र कुईनेमंगलबाट आएका जनतालाई सेवा दिइएको थियो ।

शिविरमा ३१० जनाले स्वास्थ्य सेवा, ७३ जनाको मतदाता नामावली सङ्कलन, ज्येष्ठनागरिक परिचयपत्र ९३ र १० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । यसैगरी शिविरमा ५ हजार २ सय ४४ गोटा पशु तथा पन्छीहरुको उपचार गरिनुका साथै निःशुल्क औषधी वितरण गरिएको बताइएको छ।

शुक्रबार सम्पन्न भएको शिविरमा कुल १ सय ६८ जना कृषकहरुले पालेका गाई,भैंसी, बाख्रा, भेडा, कुखुरा,६ घोडाखच्चड लगाएत पशुपंक्षी गरी ६४ सय ५८ आन्तरिक बाह्य परजिविको औषधी र रोग अनुसारको औषधी घाँसको विउ वितरण गरिएको पशु विज्ञ केन्द्रका प्राविधिक सुवास आचार्यले बताए । सडक सञ्जालले समेत नजोडिएको चिमखोला तथा कुईनेमंगलेका सर्वसाधारणले शिविरबाट लाभान्वित भएका थिए ।

शिविरमा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयको सामाजिक परिषद अन्तर्गत रहेको स्वास्थ्य शाखाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा कृषि पशुपालन तथा वनसम्बन्धी शिविर तथा गोष्ठी कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले कास्कीका प्रमुख डाक्टर तुलबहादुर पुनले सहजीकरण गरेका थिए । त्यस्तै मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराका प्रमुख अग्नीप्रसाद नेपाल, एनएलएसआइपी मेगा प्रोजेक्टका डा. लक्ष्मण ढकाल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुनले समेत शिविरमा कृषकहरुलाई पशुपालनसम्बन्धी विषयमा जानकारी गराएको स्थानीयले बताएका छन् ।

शिविरको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले म्याग्दी जिल्लाको विकासमा केन्द्रित हुने गरी पूर्वाधार सहित विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको बताईन् । उनले जिल्लाको विकासका लागि निरन्तर पहल गरेको बताईन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुर्गम क्षेत्रका जनतालाई घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply