म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा शनिवार (आज) देखि प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ शुरु भएको छ । रेडियोको ११ औं वार्षिकोत्सवको अवसर पारेर ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा जिल्लाका बिभिन्न जातजाती, भाषाबासी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

महोत्सवको गण्डकी प्रदेश सभाका सदस्य बिनोद केसीले उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी सांसद केसीले म्याग्दीको पर्यटन विकासका लागि रेडियोद्धारा आयोजित यो महोत्सव सहयोगी हुनु पर्ने विचार व्यक्त गरे । सांसद केसीले रेडियो जनताको आवाज भएकोले यसको संरक्षण र संचालनमा समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताउँदै संचारमाध्यमको सवलीकरणमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य, पत्रकारको तर्फबाट हरिकृष्ण गौतम,लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसी, गाउँपालिकाहरुको तर्फबाट भववहादुर भण्डारी,बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, जिल्लामा रहेका राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका सभापति माधवप्रसाद रेग्मी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसी लगाएतले रेडियो म्याग्दीको आयोजनामा भएको पर्यटन महोत्सवलाई सबैले सहयोग गर्नु पर्ने र जिल्लामा पर्यटन प्रवर्धनका लागि सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।

महोत्सवलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि १३ ओटा उपसमिति गठन गरिएको रेडियो संचालक समितिका सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिए । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता समेत समावेश गरिएको छ ।

खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ । भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० वटा व्यापारिक स्टल रहेका छन्।

स्थानीय उत्पादनका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराइएको रेडियोका स्टेशन संयोजक एवम् महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिनुभयो ।

महोत्सवलाई हामीले जिल्लाको कला संस्कृतिको संरक्षण र संवद्र्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यवसायिक रुपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचार प्रसार र साना र घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर १० लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अनुमान आयोजकको छ ।
उद्घाटन कार्यक्रम रेडियो म्याग्दीका संस्थापक अध्यक्ष एवम् महोत्सवका मूल संयोजक चिरञ्जिवी शर्मा पौडेलको अध्यक्षता,सचिव ठाकुरप्रसाद शर्माको स्वागत,रेडियोका स्टेशन म्यानेजर भरत रकालको संचालनमा सम्पन्न भयो ।

Leave a Reply