म्याग्दीको पर्यटकीयस्थल बेलढुंगामा म्याग्दी जेसीजले शनिबार बोर्ड अनावरण गरेको छ । बेनी नगरपालिका र बागलुङको काठेखोला गाउँपालिकाको धम्जाको शीरमा अवस्थित बेलढुंगा जिल्लाकै पर्यटकीय गन्तब्य बनाउन सकिने प्रसस्त सम्भावनालाई मध्यनजर गरी बेनपा–३ का वडा अध्यक्ष पदम पुनले बोर्डको अनावरण गदैं उद्घाटन गदैं सुन्दर गन्तब्यको रुपमा विकास गर्ने प्रयासमा सघाउन अनुरोध गरे ।

जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांस भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बताए । उनले स्थानीयस्तरबाट प्रचारप्रसार सहित न्यूनतम पूर्वाधार विस्तारको प्रयास भएपनि प्रयाप्त नभएको बताए ।

भकिम्लीको मुसुङ, डोले, भुकभुके गाउँबाट करिव डेढघण्टाको दुरीमा रहेको बेलढुंगामा पुग्नु अगाडी धार्मिकस्थल स्वर्गाआश्रम, तपस्यास्थल,प्राचिनकालिन अवस्थामा निर्मित पोखरी, विश्रामस्थलहरू समेत अवलोकन गर्न सकिने भएकाले पनि स्थानीयको अभियानमा सघाउने प्रयास गरिएको म्याग्दी जेसीजका अध्यक्ष खम थापाले बताए ।
उनले नेतृत्व र ब्यक्तित्व विकासँगै जिल्लाको पर्यटन सहित विभिन्न अभियानमा समेत सघाउने बताए । पदयात्रामा रमाउने आन्तरिक पर्यटकले घनाबस्तीलाई थिचोल्दै पहाडको शीरमा रहेको विशाल चट्टानमा बसेर दृष्य अवलोकन प्रमुख आर्कषण रहेको थापाको भनाई छ ।

बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरी लगायत दर्जन हिमश्रंखला, लालीगुराँसको घना जंगल, बन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छ । जंगलको बीचमा रहेको अग्लो ढुंगा सम्म पुगेपछि त्यहाँ करिव ३० जना बस्न मिल्ने ठाउँ समेत रहेको छ । गोलो आकारको ढुंगाको माथिल्लो भागमा बसेर मिनी बनभोजको समेत आयोजना गर्न सकिने भएकाले पनि यहाँको प्रचारप्रसार गर्नुपर्ने राष्ट्रिय जेसीजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले बताए।

बेलढुंगा आसपासका क्षेत्रमा प्राचीनकालमा तपस्या गर्ने गएका सप्त ऋषीहरुले तपस्या गर्ने क्रममा ठुला पत्थरमा बनाएको बाटो हुदै पुगिने उक्त ठाउँलाई सप्त ऋषी बेलढुङ्गा समेत भन्ने गरिन्छ । हरेक बर्षको बैशाख १ गते स्वार्गाआश्रममा हुने पुजा समेत गर्ने गरिन्छ । म्याग्दी जेसीजले जिल्लाका विभिन्न पर्यकीयस्थलमा बोर्ड अनावरण सहित भ्रमणको निम्तो समेत दिने गरेको छ ।

Leave a Reply