चैत १७ गते आइतवार साँझको आँधीबाट सबैभन्दा बढी प्रभावित भएको बारा जिल्लाको फेटा गाउपालिका १ भर्वोलियमा ६ दिनसम्म निरन्तररुपमा उद्धार र राहत कार्यमा खटेर शनिवार फकिएका छन् अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल ।

विपत्ति र विनाशका विरुद्ध लड्न नै जन्मिएका हुन् की जस्तो लाग्ने म्याग्दीका यी युवा २०७२ सालको विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्वन्धीत ठाउँमा नै पुगेर उद्धार कार्यमा जुट्ने गरेका छन् ।

स्वयम्सेवीका रुपमा स्वतस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षिय पौडेल आफ्नो व्यक्तिगत सुख सयललाई समेत छोडेर अरुको पीडामा मलहम लगाउने कार्यमा निरन्तर जुटिरहेका छन् । २०७२ सालको महाभूकम्पका बेला भूकम्प गएको पर्सीपल्ट गोरखाको आरुघाटबाट उद्धार र राहत वितरणमा जुटेका पौडेल त्यसपछि निरन्तररुपमा ३० भन्दा बढि ठाउँमा पुगेर स्वय्सेवी कार्य गर्दै आएका छन् ।

पछिल्लो समय गत आइतवार साँझको महाविनाशकारी आँधीबाट आक्रान्त भएको फेटा गाउपालिका १ भर्वोलियमा पौडेलको नेतृत्वमा १५ जना विद्यार्थीहरु सम्मिलित एक समूहले ६ दिनसम्म लगातार पीडितहरुको उद्धार,राहत र अन्य व्यस्थापकीय कामहरु गरेर फर्किएको छ ।
“पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ ।।”

गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको आँधीबाट प्रताडित भएका पीडितहरुको उद्धार र राहतको लागि पहाडबाट गएको एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय,व्यवस्थापकीय र आर्थिक सहयोगका कामहरु भएका फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दासले जानकारी दिए ।तराईको फेटा गाउँपालिकाका धर्तीपुत्रहरुलाई पहाडबाट गएको युवाको नेतृत्वमा भएका कामले धेरै राहत मिलेको अध्यक्ष दासको भनाइ थियो ।

‘हामीले त्यहाँ धेरै समय मानवीय र व्यवस्थापकीय काममा नै वितायौं’ अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका पौडेलले भने ‘हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाढ्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको आँधीको त्रास कम गर्न र उनीहरुलाई पुरानै अवस्थामा फर्काउन शैक्षिकलगायत खेलकुद सामान वितरण ग¥यौं, पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकाहरुलाई चप्पल र नाङ्गो आङ भएकाहरुलाई आफूले सक्दो पैसा खर्च गरेरै भएपनि कपडा किनिदियौं ।’

गत आइतबार आएको आँधीबाट बाराको फेटा गाउँपालिका सबैभन्दा प्रभावित बनेको थियो । त्यहाँको अवस्था देख्दा निकै दुःख लागेको बताउने पौडेलले म्याग्दीमा जुटाएको करिब १ लाख रुपैयाँको राहत सामाग्री समेत वितरण गरेका थिए । ६ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिए पछि पौडेलको टोली शनिवार फेटाबाट फकिएको हो। नेपाली सेनासंग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फेटामा फोहोर व्यवस्थापन, महामारी फैलिन नदिने उपायहरु लगाएतका अन्य धेरै जनचेतनामूलक कामहरु पनि गरेको छ ।

‘आँधी प्रभावित क्षेत्रका बालबालिकामा एकखाले त्रास फैलिएको देख्यौं, दाताहरुले आआफ्नो ठाउँबाट सहयोग गरिरहनुभएको छ, हामीले पनि सकेको ग¥यौं’ पौडेलले भने ।पौडेलका अनुसार फेटा गाउपालिका १ को भर्वोलिय बस्तीमा मात्रै ६ सय ४० वटा घरहरु भत्केका छन् । त्यहाँको अवस्था अझैसम्म पनि सामान्य भैसकेको छैन । त्यसमाथि पनि अझ पानी परेपछि विशेषगरी बालबालिका र बृद्धबृद्धाहरुको अवस्था दयनीय रहेको छ । यस्तो अवस्थामा आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पौडेलले सबैसंग आग्रह गरेका छन् ।

Leave a Reply