म्याग्दीमा केही दिनदेखि लगातार परेको असिाना पानीले लाखौं मुल्य बराबरको अन्नबालीमा क्षती पुगेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसंगै परेको असिना पानीका कारण तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ ।  बर्षाले वडा कार्यालयबाट झाँक्रपानी सहित विभिन्न बस्ती जोड्ने ग्रामिण सडक समेत प्रभावित भएको स्वास्थ्य चौकीका अहेव बबरजंग पालले बेनीअनलाइनलाई बताए । ‘खेतभरी हिउँजस्तै सेताम्मे असिनाले अन्नबाली सखाप पारेको छ, खानेपानी र सडकमा समेत क्षती पुगेको छ’ पालले भने ।

उनका अनुसार बरंजाको ग्रामिण सडकलाई बर्षातको समयमा जस्तै अवरुद्ध हुनुका साथै सडक आसपासका क्षेत्रमा पहिरोले सडक अवरुद्ध हुनुका साथै गाउँमा ल्याउन प्रयोग गरिएका खानेपानीका पाईपमा समेत क्षती पुगेको छ । दैनिकजसो असिना पानी र हावाहुरीले तरकारी तथा गहुँबाली नष्ट भएको वडा नं ४ का अध्यक्ष ओमबहादुर रोकाले बताए । उनले क्षतीको विवरण संकलन जारी रहेको बताउँदै तत्काल सडक र खानेपानी नियमित बनाउने प्रयास जारी रहेको बताए ।

यता गाउँपालिकाले असिनापानीका कारण अस्तब्यस्त भएका क्षेत्रमा सडक र खानेपानी सहित स्थानीयलाई सहज आवतजावत हुने गरी काम गर्ने जनाएको छ । केहीदिन यता हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि जिल्लाका अधिकांस क्षेत्रमा करोडौंको क्षती पुगेको छ । बेनी नगरपालिका, मंगला, मालिका गाउँपालिकामा गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले पुरै नष्ट गरेपछि कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन ।

Leave a Reply