विश्वकै अलौकिक तीर्थस्थल मानिएको म्याग्दीको गलेश्वरधाममा ९ हजार भन्दा बढी तीर्थयात्रीले दर्शन गरेका छन्। शालिग्राम शीला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको तटमा ९ रोपनी क्षेत्रफलको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर शिवालयमा चैतेदशैंको पहिलो दिन शनिबार मात्र ९ हजार भन्दा बढी तीर्थयात्री र आन्तरिक पर्यटकले दर्शन गरेका शिवालय क्षेत्रविकास कोषले जनाएको छ।

गलेश्वर शिवालय क्षेत्रविकास कोषका कार्यालय सचिव रामवहादुर बानियाँले दिएको जानकारी अनुसार महाशिवरात्री र बालाचर्तुदर्शीबाहेक अन्य दिनमा यति धेरै तीर्थयात्री आएको यो पहिलो पटक हो। मुक्तिनाथ प्रवेशद्धारको रुपमा समेत परिचित गलेश्वरमा काठमाडौं, पोखरा, भैरहवा, चितवन, नवलपरासी, नवलपुर, झापा, नेपालगञ्ज, बर्दियालगायतका ठाउँबाट तीर्थयात्री आएका छन्।

विशेषगरी पितृ तर्पण र श्रद्धाका लागि औंशीमा मुक्तिनाथ र कागबेनी गएका तीर्थयात्रीहरू आइतबार फर्केर गलेश्वरमा आएका हुन्। सत्ययुगमा पिता दक्षप्रजापतिले आफ्ना पति भगवान शिवलाई नबोलाई यज्ञ गर्दा सतिदेवीले पतीको अपमान सहन नसकी यज्ञमा रहेको अग्नीकुण्डमा हामफालेर प्राण त्याग गरेकी थिइन्। पत्नी वियोगको पीडाबाट विछिप्त महादेव (भगवान शिव) ले सतीदेवीको शव (लास)लाई बोकेर हिमालय पर्वततर्फ जाने क्रममा गलेश्वरमा आउँदा सतिदेवीको गला पतन भएको हिन्दुहरूको धार्मिक ग्रन्थ श्री स्वस्थानी ब्रतकथामा उल्लेख छ।

सतिदेवीको गला पतन भएको हुनाले नै यस तीर्थस्थललाई गलेश्वर नामाकरण गरिएको धार्मिक ग्रन्थमा बताइएको छ। हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा यातायात व्यवसायीको सिण्डिकेट अन्त्यभै व्यवस्थित रुपमा यातायातका साधन संचालन हुन थालेपछि मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीका कारण पनि गलेश्वरमा भक्तजनको बृद्धि भएको हो।

पछिल्लो समय गलेश्वर धाममा भौतिक पूर्वाधारको पनि तीब्ररुपमा निर्माण भइरहेको छ। यहाँ यात्री निवासदेखि लिएर निशुल्क भोजनको समेत प्रबन्ध गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रवहादुर केसीले बताए। अन्तर्राष्ट्रियरुपमा समेत चर्चा पाएको गलेश्वरधाममा भारतलगायत अन्य देशबाट समेत तीर्थयात्री र पर्यटक आउने गरेका अध्यक्ष केसीको भनाइ थियो।

Leave a Reply