लामो समयको बहस र छलफल पछि म्याग्दीका सम्पूर्ण स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुङ्गिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा पहिलो पार्टीको रुपमा रहेको नेकपाले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको भावना समेटिने,अपनत्व देखिने र योगदानको मूल्याङ्कन हुने गरी एकता प्रक्रियालाई टुङ्ग्याएको जनाएको छ ।

एकता प्रक्रियाका सम्वन्धमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका मतदाता र शुभेच्छुकहरुको प्रतिक्रिया भने बाहिर आइसकेको छैन । सोमवार जिल्लाको रघुगंगा गाउँपालिकामा सर्वसम्मतरुपमा कमिटी गठन भएपछि म्याग्दीका सम्पूर्ण स्थानीयतहहरुमा एकता प्रक्रिया सकिएको हो ।

अव जिल्ला नेतृत्वमा को आउने भन्ने मात्र बाँकी रहेको छ ।एकसाता अघि बेनी नगरपालिकाबाट शुरु भएको एकता प्रक्रिया जिल्लाका सबै गाउँपालिका र वडाहरुमा कमिटी गठन गरेपछि समाप्त भएको हो । बेनी नगरपालिकाको अध्यक्षमा पूर्व माओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्व एमालेका नेता राजकुमार थापा चयन हुनुभएको छ । नगरपालिकाका १० ओटै वडाहरुमा वडा कमिटी पनि गठन गरिएको छ । बेनी नगरपालिकामा ५७ सदस्यीय नेकपा नगर कमिटी गठन गरिएको छ ।

त्यसैगरी पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पनि नेकपाको एकताले पूर्णता पाएको छ । मालिका गाउँपालिकाको नेकपा अध्यक्षमा पूर्व एमालेको तर्फबाट बेगप्रसाद गर्वुजा र सचिवमा पूर्व माओवादी केन्द्रका गोविन सिउथानी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मालिकामा नेकपाको २५ सदस्यीय कमिटी गठन भएको छ ।

त्यस्तै जिल्लाकै दुर्गम मानिएको धौलागिरि गाउँपालिकामा शनिवार सम्पन्न नेकपाको पालिका स्तरीय बैठकले नेकपा धौलागिरि गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याललाई चयन गरेको छ । अध्यक्ष सुवेदी पूर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुनुहुन्छ । धौलागिरि गाउँपालिकामा नेकपाको ४९ सदस्यीय कमिटी गठन भएको छ ।

त्यसैगरी मंगला गाउँपालिकाको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन हुनुभएको छ । अध्यक्ष रेग्मी पूर्व एमाले र सचिव रोका पूर्व माओवादी केन्द्रका नेता हुनुहुन्छ । ५ ओटा वडा रहेको मंगलाका सबै वडामा वडा कमिटी पनि गठन भएको नेकपाको जिल्ला संयन्त्र सदस्य देववहादुर घलेले जानकारी दिनुभएको छ ।

उता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पनि नेकपाको एकता टुङ्गिएको छ । एकिकरण पछिको कमिटीको अध्यक्षमा खड्ग गिरी र सचिवमा पूर्णबहादुर पाइजा चयन हुनुभएको छ । अध्यक्ष गिरी तत्कालिन एमाले र पाइजा तत्कालिन माओबादी केन्द्रका नेता हुनुहुन्छ । अन्नपूर्णमा नेकपाको ४५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।

त्यसैगरी रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सोमवार सम्पन्न नेकपाको गाउँपालिका स्तरीय बैठकले एकता प्रक्रियालाई टुङ्ग्याउँदै ५१ सदस्यीय नेकपा रघुगंगा गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा दीपक कार्की ‘विखर्ची’ र सचिवमा हरि भण्डारी चयन हुनुभएको नेकपा जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष कार्की पूर्व नेकपा एमाले र सचिव भण्डारी पूर्व माओवादी केन्द्रका नेता हुनुहुन्छ ।जिल्लामा एकता प्रकृया टुङ्गिएसंगै नेकपामा नयाँ उत्साहा उत्पन्न भएको नेकपाका नेता तथा कार्यकर्ताहरुले बताएका छन् ।

Leave a Reply