म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदीको नाउराको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा स्नान गरी गाउँतिर जाने क्रममा मुदी खिवाङका जित पुनको धौलागिरि चक्रिय पदमार्गको सबैभन्दा कठिन र अप्ठ्यारो मानिने नाउराको भिरमा चिप्लिएर करिब ३ सय मिटर तल खसेर ज्यान गएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

आफन्तसँगै तातोपानी स्नान गरेर फर्किदै गरेको अवस्थामा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए । ‘घटनास्थलमा दरबाङ र ताकमबाट प्रहरीको टोली पठाइएको छ,‘लगातारको बर्षाले बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्छ’ पाण्डेले भने।पूर्व बिर्टिस आर्मी समेत रहेका पुन सामाजिक क्षेत्रमा सक्रिय थिए । मुदीमा विकास निर्माण सहित सामाजिक गतिविधिका साथै जलविद्युत योजनामा सक्रिय रहेका पुनको दुर्घटनाको खवरलगत्तै मुदी शोकमा डुबेको छ।

धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनका दाई समेत रहेका पुनले बेलायतमा समेत म्याग्दी सहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय दिए। आमा सिकिस्त विरामी भएपछि रेखदेखका लागि आएका पुन आमाको निधन भएपछि गाउँमै विभिन्न योजनामा सक्रिय थिए । गाउँको शिक्षा, स्वास्थ्य सहित विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेका पुनको निधनले स्तब्ध भएको स्थानीय होमनाथ शर्माले बताए ।

‘एउटा सामाजिक ब्यक्ति गुमाएका छौ,‘धेरै सपना बोकेर गाउँ फर्किनुभएको थियो’ शर्माले भने । विश्वकै सातौ अग्लो धौलागिरी हिमालको आरोहणका साथै पदमार्गमा आवतजावत गर्नेलाई लक्षित गरी नाउरादेखि बगर गाउँको बीचमा पर्ने भीरमा गाउँपालिकाले पक्की र ढुङ्गे सिँढीसहितको पदमार्ग निर्माण गरेको थियो । भीरबाट लडेर बर्सेनि एक, दुई जनाले ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply