व्यावसायिक कृषिको माध्यमद्धारा ग्रामीण जनतालाई आत्मनिर्भर बनाउने उद्धेश्यले हिमाली जिल्ला म्याग्दीका ५ औटै गाउँपालिकामा ६५ दिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम मंगलबार (आज) बाट सुरु भएको छ।

जिल्लाको मालिका गाउँपालिका वडा नं ७ विममा रहेको किसानी माध्यमिक विद्यालय, किसानी कृषि प्राविधिक शिक्षालय र सिटिइभिटीको २४ लाख रुपैयाँको लागतमा जिल्लाका सबै गाउँपालिकामा एकैपटक ६५ दिने बेमौसमी तरकारी तथा च्याउ खेती सुरु भएको हो।जिल्लाका मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सुरु गरिएको सो तालिममा १ सय ४० जना कृषकहरू सहभागि भएका छन्। तालिमको सम्बन्धित गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरूले उद्घाटन गरेका हुन्।

तालिमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र समृद्धिको आधार कृषि नै भएकोले यसलाई व्यावसायिक रुप दिन र मनग्गे लाभ लिन सहभागिलाई आग्रह गरे।त्यसैगरी अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पनि ६५ दिनसम्म संचालन हुने तालिमबाट कृषकहरुले खेती गर्ने नयाँ पद्यती, प्रविधि र बीउ, विजन, विषादी लगायत बजारको समेत जानकारी हाँसिल गर्न पाउने बताउँदै गाउँपालिकाले पनि कृषकहरूको व्यावसाय वृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

५ ओटै स्थानीय तहहरूमा संचालन भएको तालिममा कृषि प्राविधिक र सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्ने जनाइएको छ। तालिमको संयोजन सिटिइभिटीद्धारा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले गरेको हो। २०६८ सालमा मालिका गाउँपालिकाको बिममा स्थापना भएको किसानी कृषि प्राविधिक शिक्षालय यस क्षेत्रको एक मात्र कृषि प्राविधिक शिक्षालय हो।

यस शिक्षालयमार्फत जिल्लामा कृषि उपज, व्यावसायिक तरकारी र फलफूल खेतीका लागि कृषकलाई विभिन्न किसिमका तालिम, सीप, औजार र आवश्यक परामर्श प्रदान गर्नुका साथै प्राविधिक जनशक्ति पनि तयार पार्ने गरिएको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कडेलले बताए। शिक्षालयमा जेटिए, आइएससी(एजी) र भेटेरेनरीको पढाई हुँदै आएको छ। नेपालका विभिन्न १७ जिल्लाबाट विद्यार्थीहरू कृषि अध्ययनका लागि यहाँ आएका र चालू शैक्षिक वर्षमा १ सय ५४ जना विद्यार्थीले अध्ययन गरीरहेका शिक्षालयका संयोजक कडेंलले जानकारी दिए।

Leave a Reply