धवलागिरी गाउँपालिका–२ लुलाङकी १५ बर्षीया एक बालिकाले गाउँकै लम्सुङ माविमा कक्षा ९ मा अध्ययरत मिलन विकसँग विवाह गरिन् । एउटै विद्यालयमा अध्ययरत दुवैजना विवाहपश्चात नियमित विद्यालय जादैनन् । वडा नं ३ मुना फलियागाउँकी भण्डारी थर गरेकी एक बालिकाले मालिका गाउँपालिका–५ देविस्थानका एक यूवासँग विवाह गरिन् । गाउँकै धनजनता माविमा अध्ययरत १७ बर्षिया बालिकाले विवाह गरेपछि विद्यालय छोडिन् ।

आफुँखुसी विवाह गरेका बालबालिकालाई परिवारले समेत सहमति जनाउन थालेपछि गएको भदौ महिना यता लुलाङमा मात्रै १४ देखि १८ बर्ष उमेरका १४ जोडीले उमेर नपुग्दै विवाह गरेका छन् । लुलाङमा बालविवाह गर्नेमा अधिकांस दलित समुदायका छन् ।जिल्लाकै ठूलो दलित बस्ती रहेको लुलाङमा गरिबीकै कारण बालविवाह हुने गरेको छ ।आधारभुत तहदेखि माविसम्म अध्ययरत विद्यार्थीले एकपछि अर्को बाल विवाह गर्न थालेपछि विकट लुलाङमा बालविवाह विकराल बन्दै गइरहेको छ ।

धवलागिरीको लुलाङ, मुना, मुदी, मराङमा आधारभुत तहमै अध्ययरत विद्यार्थी बन्धनमा बाँधिन थालेपछि बालविवाह चुनौतीको रुपमा देखिएको गाउँपालिकका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।‘यहाँको जटिल समस्यामध्ये बालविवाह पनि एक हो,‘बालबालिकाको सहमतिलाई अभिभावकले तोड्न सकेका छैनन्’ छन्त्यालले भने । उनका अनुसार बालविवाह गरेका जोडी नियमित विद्यालय नजाने, सानै उमेरमा सम्बन्ध विच्छेद गर्ने, शाररीक एवम् मानसीक रूपमा कमजोर हुने भएपनि जनचेतनाको अभावले न्यूनिकरणमा समस्या भएको बताए ।

विपन्न समुदायका अभिभावकले छोरीलाई विद्यालयभन्दा बिवाहको बाटो रोज्ने गरेकाले पनि कानुनले समेत बर्जित गरेको बालविवाहलाई प्रोत्साहन मिलेको छन्त्यालको भनाई छ ।छोरीलाई विवाह गरिदिएपछि झन्झटबाट मुक्त हुने भन्दै परिवारकै दववामा विवाह गर्नेलाई रोक्ने बालसञ्जालको प्रयासलाई समेत दवाउने प्रयासले समेत विगतमा गरिएका केही प्रयास असफल जस्तै भएका थिए।गाउँपालिकाभित्र बालविवाहको अवस्थाको स्थलगत तथा तथ्य सङ्कलनमा जुटेका छन्त्यालले बालविवाह रोक्न अभिभावक र बालबालिकाको सक्रियता प्रमुख आधार भएको बताए ।

उनले परम्परागत गलत संस्कार, जनचेतनाको कमी, गरिबी, अशिक्षाका कारण परिवारले नै दवाव दिने गरेको बताए । कलिलै उमेरमा विवाह गर्ने जोडीलाई रोक्ने गरी ‘उमेर सान्र्दभिक विवाहसँग उपाध्यक्ष’ नामक अभियान सुरू भएको छ । स्थानीय तहको निर्वाचनपछि वडास्तरमै रहेका जनप्रतिनिधिहरूले समेत बालविवाह रोक्न असफल देखिन्छन् । जिल्लाका अन्य स्थानीय तहको तुलनामा धवलागिरीमा बालविवाह गर्नेको संख्या धेरै भएपनि गुपचुप राख्ने गरिएकाले आधिकारिक तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको जनप्रतिनिधिको भनाई छ ।

यसरी हुदैछ अभियानको सुरूवात

धवलागिरी गाउँपालिकाले बालविवाह विरुद्धको अभियानका लागि चालु आवमा ३ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका भित्रका सबै वडामा जनचेतनामुलक अभियानसँगै बालविवाहमुक्त वडा घोषणा सहित बार्षिक कार्ययोजना,बाल सञ्जाललाई तालिम, अनुगमन लगाएतका गतिविधि गरिने छ । गाउँपालिका भित्रका सबै आधारभुत तथा मावि तहका विद्यालयमा सञ्जाल गठन, सञ्जालको विवाह हुने स्थानमा गस्ती, ‘विवाह जग्गेबाटै जोगाउ बालिका’, ‘बालिका दुलही होइनन्’ जस्ता नारा सहित गाउँपालिकाले आगामी आवदेखि तिब्रताका साथ अभियान सुरू गर्ने तयारी गरेको छ ।

बालविवाह, बाल अधिकारीको हनन् मात्र नभई बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउदा स्वास्थ्यसम्बन्धि विभिन्न समस्याहरू देखिने भएकाले पनि प्राथमिकताका साथ अभियानको सुरूवात गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले बताईन् ।

उनले यौनजन्य हिंसा, बालश्रम जस्ता समस्यालाई समेत सोही अभियानले समेट्ने प्रयास गरिएको बताईन् ।कलिलै उमेरमा बिवाह गर्दा भविस्यमा महिला हिंसाका घटनामा बृद्धि हुने, महिलाहरू थप प्रताडित हुदाँ समाज गलत बाटोमा अगाडी बढ्ने भएकाले पनि अभियानमा सरोकारवालाबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको बताईन् । सामाजिक संस्कार सबैभन्दा ठूलो चुनौती देखिएकाले केहीदिनमै भेला सहित सचेतना कार्यक्रम गरिने उनको भनाई छ । म्याग्दीमा प्रवासी म्याग्देलीको संस्था मोनाले बालबालिका कोषको अभियान सुरू गरेपनि प्रभावकारी हुन सकेको छैन् ।

बालविवाह रोक्नै मुस्किल

नेपालको कानुन अनुसार २० बर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि म्याग्दीमा कम उमेर समुहका विवाह गर्नेको संख्या कम छैन् । चारपाँच दशक अगाडी गरिबी, अशिक्षा र धर्म कमाउने नाममा सानै उमेरमा विवाह गर्ने चलन जस्तै अभिभावककै चाहनामा बालविवाह गर्ने गरिएको छ । जिल्लाभित्र आधिकारिक तथ्याङ्क नभएपनि बालविवाहलाई आफन्त र समुदायबाटै प्रोत्साहनका घटना प्रसस्तै देखिन्छन् । १४ देखि १९ बर्ष उमेरमै आफू खुसी विवाह गर्नेलाई परिवार र समुदायबाटै नियन्त्रणमा असहयोग गर्नाले केही स्थानीय तहमा बाल सञ्जाल मार्फत गरिएका प्रयास समेत सफल हुन सकेका छैनन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यले कलिलै उमेरमा विवाह गर्ने समस्यै समस्यामा फस्ने बताए ।उनका अनुसार पारिवारिक, आर्थिक लगाएतका समस्याभन्दा पनि जटिल सानै उमेरमा प्रजनन अङ्गहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृमृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सर लगाएत यौनजन्य रोग लाग्ने भएकाले पनि समस्या हुने गरेको बताए ।

उनले जिल्लभर १४ देखि २० बर्षको उमेर समुहकाले गर्भपतन सेवा लिनेको संख्या पनि ठुलै रहेकाले जनचेतनामुलक अभियानलाई तिब्रता दिनुपर्ने बताए । किशोरकिशोरीमा यौन तथा प्रजनन् स्वास्थ्यको न्यून ज्ञानको अभावलाई स्थानीय तहसंँग सहकार्य गरी विद्यालयस्तरबाटै जनचेतनामुलक कार्यहरू सञ्चालन गर्न सकिने बताए ।

Leave a Reply