सुशीलबाबु थकाली/ घरगाउँदेखि ओलम्पिक जस्तो खेल महाकुम्भमा पनि परिचित र स्थापित खेल हो – धनुषकाण । यसलाई नेपालको थकाली समुदायमा तारा खेल भनिन्छ भने विश्व खेल जगतमा आर्चरीको नामले प्रख्यात छ । परम्परागतरुपमा नै नेपालका लागि यो परिचित र प्रयोगमा आइरहने खेल हो तर अन्तर्राष्ट्रिय जगतमा नेपालमा यस खेलको उपस्थिति अहिले सम्म कमजोर रहदै आएको छ । नेपालमा नै अझै पनि यो खेल गाउँघरदेखि शहरसम्म खेलिने भएपनि अवस्था भने दयनीय रहदै आएको छ ।

थकाली संस्कृति र संस्कारमा लोकप्रिय यो तारा खेल अहिले मुस्ताङमा लोकप्रिय छ । लामो समयदेखि खेलिदै आएको खेल भए पनि पछिल्लो समय भौतिक पूर्वाधारसँगै खेल खेल्ने क्रममा समस्या भएको भन्दै युवाहरु तारा (आर्चरी) खेलको व्यवस्थित विकास अभियानमा लागिपरेका छन् । मुस्ताङको अधिकांश स्थानहरुमा खेलिने भएपनि तारा खेललाइ व्यवस्थित बनाउन भने जिल्ला स्थित सरोकारवाला निकायले खासै चासो नदिएको युवाहरुको गुनासो रहेको छ ।

पुर्खाको नासोलाई व्यवस्थित गर्दै मुस्ताङ्गी युवाहरुः

पूर्खाहरुले चिनोको रुपमा छाडेर गएको यो बिशेष परम्परालाइ जोगाउन कुनै पनि कसर नछोडी लागिपरको युवा आर्चरी खेलाडीहरुले बताएका छन् । करिब १ दशक लामो समय आर्चरी खेलमा बिताइसकेका युवाहरु अहिले बदलिदो समयले धेरै नै चुनौती दिएको बताउछन् । यद्यपि आंशिकरुपमा भए पनि मुस्ताङमा आर्चरी खेलमा केही प्रगति भएको युवा खेलाडी असिम शेरचनले बताए । उनले भने– जिल्लाको हरेक स्थानमा पछिल्लो केहि बर्ष यता तारा (आर्चरी) खेललाइ निक्कैनै महत्वका साथ हेरिदै आएको छ । यसैले पनि मुस्ताङमा यसको प्रचुर सम्भावना रहेको अनुमान लगाउन सकिन्छ ।

इण्डोर पूर्वाधारको आवश्यकताः

परम्परागत खेल भएकोले पनि यसलाइ बिकास गर्दै लैजान सकिने कुरामा दुई मत नभएको शेरचनको धारणा रहेको छ, उनले भने–“सम्भावना धेरै नै छ तर खेल खेल्दा हावा र पानीबाट बच्न जरुरी हुन्छ ।” त्यसैले पनि मुस्ताङमा तारा (आर्चरी) खेल खेलाउने हो भने व्यवस्थित इन्डोर पूर्वाधारको आवश्यकता रहन्छ ।

जिल्ला बाहिरबाट प्रशिक्षकहरु ल्याएर समेत खेल प्रशिक्षण दिन सकिने शेरचनले बताए, उनले भने–“ मुस्ताङमा तारा (आर्चरी) खेललाइ पर्यटन प्रवद्र्धनसंग जोड्न सकिन्छ । र जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय स्तरमा समेत लैजान सकिन्छ ।” यसका लागि खेलकुद मन्त्रालयसंगसंगै जिल्लाका सम्बन्धित सरोकारवाला निकायसंग सहकार्य गर्नुपर्ने शेरचनले बताए । शेरचनका अनुसार व्यवस्थित तारा (आर्चरी) खेललाइ अगाडि बढाउने हो भने जिल्लाका सबै सरोकारवाला निकायहरुले चासोका साथ हेरिदिनुपर्ने उनको आग्रह छ, उनले भने–“सकिन्छ भने प्र्रत्येक वडामा यसको विकास गर्दा राम्रो हुन्छ । यदि सुरुवातमा समस्या आएमा खास ठाउँमा मात्र इन्डोरको व्यवस्था गरि अगाडि बडाएमा राम्रो हुन्छ ।

मुस्ताङमा पछिल्लो केही बर्ष यता व्यवस्थित तारा (आर्चरी) खेलको सुरुवात भैरहेको छ । यसैले पनि आर्चरीको विकास गर्न लागिपर्नुपर्ने देखिन्छ । तारा मुस्ताङ जिल्लाको अधिकांश भेगहरुमा खेलिने खेल हो । धेरै पहिले पुर्खाहरुले बनाएको सामान्य धनुषवाण र तिरको सहायतामा यो खेल खेलीने परम्परा थियो । तर मस्ताङमा केहि बर्ष मात्र आर्चरीको सुरुवात हुन थालेको पाइन्छ । बिशेषगरी जिल्लाको थासाङ र घरपझोङ गाउँपालिकामा बर्षको हरेक सिजनमा यो खेल खेलाइदै आएको पाइन्छ । साथै पछिल्लो कहि समय यता उपल्लो मुस्ताङको वारागँु मुक्तिक्षेत्र गाउँपालिका आसपासमा समेत खेल खलाइदै आएको छ ।

यद्यपि उपल्लो मुस्ताङमा खेल खेलाइने भए पनि व्यवस्थित रुपमा अगाडि बढाउन केही समय लाग्ने स्थानीको भनाइ छ । उपल्लो मुस्ताङ आसपासमा अझैपनि उही पुरानो शैलीबाट खेल खेलाइने र भौगोलिक बिकटताका कारण जिल्लाबाट युवाहरु सहभागी हुन समस्या रहेको युवा अगुवा कर्मघ्याचो गुरुङले बताए । उनका अनुसार वारागँु मुक्तिक्षेत्र गाउँपपालिका आसपासमा भने एकदमै व्यवस्थित आर्चरीको विकास भैसकेको बताएका छन् ।

‘तारा खेललाई महत्व बुझ्न आवश्यक’
यसैगरी अर्का खेलाडी सन्जोग थकालीका अनुसार बिकसित राष्ट्रहरुमा यस खेललाइ महत्वका साथ हेरिएको पाइए पनि हाम्रो देशमा यस्तो नभएको उनले बताए । परम्परागत खेल त्यसमाथि पनि थकालीहरुको महान चाड फागुन पूर्णिमा (तोरन्ल्ह) को बिशेष अवसरमा खेलाइने खेल हो । यद्यपि पछिल्लो समय यसलाइ कमाइ खाने माध्यम बनाएकोले पनि जिल्लाको हरेक स्थानमा आर्चरी खेल खेलाइन्छ, उनले भने– यसलाइ व्यवस्थित रुपमा लैजानको लागि सम्बन्धित सरोकारवाला निकाय सकारात्मक हुनुपर्छ । बिशेष गरी मुस्ताङको हकमा थकालीहरुको प्रमुख खेल भएकोले पनि जिल्लाबासी सकारात्मक हुनुपर्ने थकालीको भनाइ छ ।

अहिलेसम्म राष्ट्रिय स्तरसम्म पनि जान नसकेको र यसको अभियानमा कोही पनि जागरुक नदेखिएकोले यसलाइ हरेक स्तरबाट जोड दिनुपर्छ, थकालीले भने– अब मुस्ताङमा पनि यस खेललाइ प्राथमिकतामा राखेर आर्चरी संघ संस्था स्थापन गर्न अनिवार्य रहेको छ । उनले यो खेल अत्यन्तै प्रभावकारी रहेको र यसलाइ राष्ट्रिय स्तरसम्म लैजान सके राम्रो हुने बताए । यसको लागि सुरुवातमा स्थानीस्तरबाटै विशेष तयारी हुनुपर्ने उनको भनाइ छ ।

मुस्ताङका हरेक गाउँ तारा खेलका लागि उत्साहितः

प्रायजसो मुस्ताङको २ दर्जनभन्दा बढी स्थानहरुमा खेलाइने यो खेल अहिले प्रतियोगिताको एउटा गतिलो माध्यम बनेको छ । बर्षभरी नै जिल्लाको बिभिन्न स्थानहरुमा आयोजना हुुने यो खेल अहिले सबैको लागि महत्वको बिषय बनेको पाइन्छ । खासगरी बर्षको ३÷४ वटा सिजन यस खेलको लागि उपयुक्त समय बनेको छ । बिशेषतः फागुन पूर्णिमामा यो खेलको लागि अत्यन्तै महत्वपूर्ण समय हो। अहिले सञ्चालनमा आएको खेल मुस्ताङको घरपझोङ गाउँपालिका –१ छैरोमा हो ।

खेल करिब १ साता भन्दा बढी सञ्चालनमा आउने आयोजकले बताएको छ । शनिबार जिल्लाका बिभिन्न स्थानहरुबाट खेलमा भाग लिन आउने आयोजक तथा सञ्चालक सुमन तामाङले बताए । गत साल भन्दा यस बर्ष राम्रो सहभागिता हुने उनको विश्वास छ । खेल पश्चात प्रथम, द्वितीय र तृतीयलाइ आकर्षक पुर्स्कारको व्यवस्था समेत गरिएको तामाङले बताए । प्रतियोगिताको लागि तारा (आर्चरी) खेल पूर्ण रुपमा तयारी भैसकेको छ ।

Leave a Reply