अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा गण्डकी प्रदेशबाट सबैभन्दा कम उजुरी पर्ने जिल्लामा म्याग्दी परेको छ । म्याग्दीबाट भ्रष्टाचारका २९ उजुरी परेका छन् । चालू आव २०७५÷७६ को फागुन मसान्तसम्म जिल्लास्थित विभिन्न कार्यालयका २९ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

भ्रष्टाचारका उजुरी धेरै हुने जिल्लामध्यमा कास्की पहिलो रहेको छ । म्याग्दीबाट परेका उजुरीमा १६ वटा फट्यौत भएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लामा ३३८ र सबैभन्दा कम मुस्ताङको सात उजुरी कार्यालयमा परेका छन् । मनाङबाट भने कुनै पनि उजुरी नपरेको अख्तियारका उपसचिव रमेश ढकालले बताए । सबैभन्दा बढी उजुरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेका छन् ।

सो मन्त्रालयअन्तर्गत जिल्लाका दश स्थानीय तह छन् ।जिल्लाबाट प्राप्त उजुरीको प्रकृति हेर्दा उपभोक्ता समिति गठनमा पारदर्शिता नहुनु, निर्माण तथा खरीद कार्यमा प्रतिस्पर्धा नगराइनु, गुणस्तर र मूल्यमा अनियमितता, एउटै कामलाई टुक्राटुक्रा गरी उपभोक्ता समितिमार्फत गराइनु लगायत रहेका अख्तियारले जनाएको छ ।

त्यसैगरी स्थानीय तहका प्रमुख, उपप्रमुख र कर्मचारी समेतबाट जथाभावी निर्णय गरी भत्ता बुझेको, स्थानीय तहबाट संस्थाले लिएको अनुदानमा अनियमितता गरेको, उपभोक्ता समितिमार्फत भएका कार्यको सामाजिक परीक्षण गर्ने नगरेको लगायतका उजुरी परेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास, निर्माण, मर्मतसम्भार र सार्वजनिक खरीदतर्फ आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन यथार्थपरक नभएको, कागजमा दुरुस्त हुने र स्थलगत रुपमा निरीक्षण गर्दा फरक देखिने गरेको उजुरीसमेत प्राप्त भएको ढकालले बताए  ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कार्यालयमा स्थानीय तहका बढी उजुरी आउने गरेका अख्तियारले जनाएको छ । गण्डकी प्रदेशभित्रका जिल्लामा साविकको धौलागिरी अञ्चलबाट पर्वतबाट ६३ मा ३१, बागलुङबाट ४१ मा १५, म्याग्दीबाट २९ उजुरी परेकामा १६ र मुस्ताङबाट सात उजुरीमा दुई फछ्र्यौट भएका कार्यालयले जनाएको छ ।

Leave a Reply