किन रेडियो म्याग्दीको महोत्सवमा प्रशासनको हस्तक्षेप भयो ?

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षेप गरेको छ । ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ ले ११ औं बार्षिकोत्सवको अवसरमा आयोजित मेलामा प्रशासनसँगको सहमित अनुसार समयसिमाभित्र नसकेको भन्दै शनिबार विहानै खुल्लामञ्चमा प्रहरी परिचालन गरी खुल्लामञ्चमा प्रवेश निषेश गरेको हो ।

महोत्सवको उद्घाटन कार्यक्रमदेखि नै प्रशासन र आयोजक बीच तिब्र असहमतिका बीच प्रशासनले तोकेको समयसीमालाई आयोजकले अवज्ञा गरेको भन्दै बाध्य भएर हस्तक्षेप गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।‘उहाँहरूसँगको समयमै तोकिएको अवधिलाई तोड्नुभयो, महोत्सवले शान्ति सुरक्षामा गम्भीर असर गरेको छ’ प्रजिअ अधिकारीले भने ।

सरकारद्धार प्रतिबन्धित विप्लप समुह, महोत्सव बाहिर हुने गरेका कुटपिट, झगडा, कक्षा ११ र १२ को परिक्षा, प्रतिकुल मौसम लगाएतका कारणले सुरुवातमा अनुमति दिइएको समयलाई प्रशासनले छोट्यान बाध्य भएको बताए । उनले आयोजकले प्रशासनलाई अटेर गरी महोत्सव सञ्चालनको प्रयास गरेको भन्दै समयसीमामा सक्नुपर्ने महोत्सवलाई जवरजस्ती लम्बाउने प्रयासले राज्यका निकायलाई ठाडो चुनौती दिएको बताए ।

उनले महोत्सवको समयअवधी घटाउन राजनीतिक दलले समेत सहमति जनाएको बताए । महोत्सवलाई रेडियोद्धारा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा मात्रै केन्द्रित भएर सञ्चालन हुने अनुमानको भरमा पहिलो पत्र दिएको स्वीकार गरे ।यता रेडियो म्याग्दीले महोत्सवलाई अनुमति दिएर तयारी गरेपछि अदृष्य शक्तीबाट प्रशासनलाई दवाव दिइएको दावी गरेको छ ।

महोत्सवको अनुमति चैत्र २१ देखि बैशाख १ गतेसम्म दिएपछि तयारीमा जुटेको अवस्थामा अन्तिम समयमा आएर प्रशासनलाई जिल्लाका केही संस्था र ब्यक्तिहरुको दवाव दिएको बताउँदै शनिाबार दिउँसो समापनको तयारी गरिएको रेडियाका स्टेशन संयोजक भरत रकालले बताए ।

‘बर्षाले लोकदोहोरीको फाइनलमा असर गरेपछि शनिबारलाई तोकेका थियौं, हामीले शनिबार नै सम्पूर्ण कार्यक्रमलाई सम्पन्न गर्ने योजना बनाएका थियौं’ रकालले भने । उनले महोत्सवलाई असफल भएको हेर्नेहरुबाटै शनिबार दिउँसो पुरस्कार सहित समापन कार्यक्रमको योजना बनाइएको अवस्थामा एक्कासी बन्द गरिएको बताए ।

‘महोत्सवलाई मात्रै होईन् यो रेडियोको बार्षिकउत्सवका कार्यक्रमलाई पनि हस्तक्षेप भएको छ’ रकालले भने । महोत्सवलाई बन्द गराउन विभिन्न माध्यमबाट दिइएको दवावलाई आगामी दिनमा प्रष्ट पार्ने बताए । रेडियो म्याग्दीले प्रशासनको हस्तक्षेपलाई शक्ति दुरुपयोगको आरोप समेत लगाएको छ ।

कसरी सुरू भयो विवाद ?
रेडियो म्याग्दीले महोत्सव सञ्चालनको अनुमति प्रशासनबाट प्राप्त गरेपछि तयारीमा जुटेको जनाएको छ । महोत्सवमा प्रशासनले आफ्नै लेटरप्याडमा स्वीकृति दिएपछि तयारीमा जुटेपछि महोत्सव सुरु हुने करिव एकसाता अगाडी बहस सुरु भएपछि सर्वदलिय बैठक सहित सरोकारवाला निकायको समेत उपस्थितीमा छलफल भएको थियो । सहमति अनुसार नै महोत्सवको तयारीमा जुटेको रेडियो म्याग्दीले प्रशासनसँग पहिलो स्वीकृति अनुसार नै महोत्सव सञ्चालनको प्रयास गरेपनि प्रजिअ अधिकारीले समयअवधिलाई पाँचदिनमा सिमित गर्न अडान लिएका थिए ।

चैत्र २३ देखि २७ गतेसम्म मेला सञ्चालन गर्न निर्देशन दिएपनि आयोजकले सम्पूर्ण तयारी गरिएकाले चैत्र २३ देखि बैशाख १ गतेसम्म सञ्चालन गर्न पाउनुपर्ने अडानबाटै आयोजक र प्रशासनको सम्बन्ध विग्रिएको थियो । महोत्सव सञ्चालनको स्वीकृति दिएर पछाडी हट्ने प्रशासन र महोत्सवलाई प्रशासनसँग नियमित सहकार्य गरी सञ्चालन गर्न नसक्नु दुवैको कमजोरी देखिन्छ ।

महोत्सवको समयसीमा तोक्ने प्रशासन र आयोजक बीच आरोपप्रत्यारोपले जिल्लाको इतिहासमै अहिलेसम्मकै विवादित महोत्सव बन्न पुगेको छ । महोत्सवलाई राजनीतिकरणको आरोप लगाउँदै पक्ष र विपक्षमा देखिएपछि महोत्सवको दोस्रो दिनदेखि नै महोत्सव असफल बनाउन घेराबन्दी भएको आयोजकको भनाई छ भने प्रशासनले शान्ति सुरक्षा कायम गर्न महोत्सवलाई समय सिमा तोकिएकाले राजनीतिकरणको आरोपको कुनै तुक नभएको बताउँदै आएको छ ।

अवको निकास के हुन्छ ?
महोत्सवस्थल प्रहरीको कब्जामा छ । प्रवेशद्धारमै प्रहरी बसेका छन् । महोत्सवस्थल भित्र रहेका ब्यापारी अलमलमा परेका छन् भने प्रहरीले आयोजक बाहेकलाई भित्र प्रवेश गर्न दिएको छैन् । प्रशासनले महोत्सवलाई लम्बाउने चलखेल गरेपछि महोत्सवस्थलमा रहेका ब्यापारीलाई फर्किने तयारीमा जुट्न अनुरोध गदैं महोत्सवस्थनमा प्रवेश रोकेको छ । महोत्सवस्थलमा रहेका ब्यापारीले समेत आफ्नो सामान अलपत्र परेको भन्दै सस्तोमा विक्री गर्न दिन अनुरोध गरेपनि प्रशासनबाट सुनुवाई नभएको बताइरहेको छ भने महोत्सवस्थलमा केही भीड देखिन्छ ।

जिल्लामा रहेका मानवअधिकारबादी आवद्ध संघसंस्थाले दोहोरी गीतको फाइनल र समापन कार्यक्रमका लागि केहीघण्टा समय दिन अनुरोध गरेका छन् । अझैपनि फाइनल खेलको प्रतिक्षामा रहेका कलाकारहरु अलमलमा परेका छन् । महोत्सवमा आयोजक र प्रशासनले अझैपनि सहज बाटो खोज्नुपर्छ । सदरमुका बेनीमा सञ्चालित महोत्सवका बारेमा विभिन्न किसिमका प्रचार भइरहेपनि हरेक बर्ष जस्तै लाग्ने र ३ बर्षमा भब्य रुपमा लाग्ने महोत्सव अवधीभर तोकिएको १० दिनलाई घटाएर ५ दिन र बेलुकी ६ बजेभित्र बन्द गर्ने गरी महोत्सवका लागि प्रशासनले मापदण्ड बनाउनुपर्छ ।

स्थानीय कला र संस्कृति भन्दै मदिरा बेच्दै
सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघको अधिवेशनबाट नेतृत्व चयन भएको बर्षमै करिव दुईहप्ते महोत्सव सञ्चालन गरिन्छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव समेत कम विवादित छैन् । खुल्लामञ्च वा सार्वजनिकस्थलमा मदिरा विक्री वितरणमा सरकारले रोक लगाएपनि महोत्सवस्थल मदिरा भट्टीले भरिन्छन् । महोत्सवमा सबैभन्दा धेरै विक्री हुने मदिरा नै हो । महोत्सवस्थलमा मदिरा सेवन गर्ने यूवाहरूबाटै घर फर्किने बेलामा कुटाकुट हुने गरेको छ । बेनीमा सञ्चालित महोत्सवमा मदिरा विक्रीमा रोक लगाउन प्रशासन नै असफल हुने गरेको छ ।

महोत्सवस्थलमा राखिएका भट्टीहरू नै झगडाका कारण हुन् । म्याग्दी उवासंघ, धौलागिरी लोकदोहोरी प्रतिष्ठानले गरेको महोत्सवजस्तै रेडियो म्याग्दीको महोत्सवमा पनि नाराभन्दा फरक दृष्ष्य देखिएको छ । महोत्सव स्थलमा मदिराजन्य पदार्थको विक्रीवितरण, छाडा कलाकारलाई अवसरका दिने गरिएको छ । महोत्सवमा धेरै टिकट विक्री गर्ने भन्दै कलाकार ल्याउने र रातीसम्म सञ्चालन गर्ने गरिएकाले पनि नारा अनुसार महोत्सव सञ्चालन हुन सकेको छैन् ।

अब महोत्सव सञ्चालनको मापदण्ड बनाउँ
म्याग्दी जिल्ला धेरै मेला महोत्सव हुने जिल्लामा पर्छ । हरेक वडामा खेलकुद तथा सांस्कृतिक महोत्सवको नाममा मेला सञ्चालन हुन्छ । मेलाकै कारण विगतमा ज्यान समेत गएको छ । जिल्लाका ६ वटा स्थानीय तहका ४५ वडामा मेला नभएका वडा हुदैनन् । केही वडामा त गाउँपिच्छे नै मेला लाग्ने गर्दछ ।

मेलाको प्रमुख आम्दानी भनेकै गाउँबाट प्रवासमा गएकाहरूले दिएको सहयोग हो । स्थानीय तहको निर्वाचनपछि ग्राणि क्षेत्रमा मेला सञ्चालन हुने विद्यालयबाट मेला बन्द गर्ने प्रयास भइरहेको छ भने मेलाको समयसिमालाई समेत कडाई गरिएको छ । स्थानीय तहले मेला सञ्चालनमा मापदण्ड बनाउने प्रयास भइरहेपनि बेनी नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट भने सदरमुकाम बेनीमा सञ्चालन हुने मेलामा मापदण्ड तर्फ ध्यान दिन सकेका छैनन् ।

हरेक बर्ष नियमित जस्तै महिला उद्यम विकास समितिले सडक खाना महोत्सव, माघेसक्रान्ति मेला, ३ बर्षमा म्याग्दी उवासंघले महोत्सव गर्ने र समय–समयमा अन्य संघसंस्थाले समेत मेला सञ्चालन गर्ने गरेका छन् । त्यसैले मेला सञ्चालन सम्बन्धि विवाद हुन्छ । बर्षमा कतिपटक महोत्सव लगाउने, कुन महिना ?, कति दिन ? जस्ता मापदण्ड नहुदाँ विवाद उत्पन्न हुने गरेको छ । म्याग्दीमा प्राचिनकालदेखि नै सञ्चालन हुने मंगला गाउँपालिकाको बरंजाको धुले मेलालाई समयसीमा तोक्ने प्रयासमा जुट्ने सरोाकारवालाहरु बेनीमा हुने मेलालाई लगाम बिनाको घोडा जस्तै छोड्नु हुदैन् ।

अब महोत्सवभित्र कस्ता साम्रागी विक्री गर्ने, सञ्चालन गर्ने मिति र दिनलाई प्रष्ट पार्नुपर्छ । गाउँका धार्मिक तथा परम्परागत मेलामा आँखा लगाउने प्रशासन, राजनीतिक दल, सरोकारवाला, स्थानीय तहले बजारमा सञ्चालन हुने मेलालाई आफ्नो अनुकुल ब्याख्या गर्नु भनेको नै ुभीरमा गएको गोरुलाई रामराम त भन्न सकिएला तर काँध हाल्न सकिन्नु भनेजस्तै हो।