कालीगण्डकी गर्जको निमार्ण कात्तिकदेखि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण हुने १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्यूत आयोजना आगामी कात्तिकदेखि निर्माणको चरणमा प्रवेश गर्ने भएको छ । चैत १५ र १६ मा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा चीनको ‘युनान सिन्ह्वा वाटर कन्जर्भेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी’ र आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुशनबीच समझदारी भएको थियो । सोही सम्मेलनमा  आयोजनाका लागि चिनिया कम्पनिले करीब रू. ४० अर्ब लगानी गर्ने सहमति भएको थियो ।

हाइड्रो सोलुशनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानले आयोजनाको विद्युत् खरीद–विक्री सम्झौता (पीपीए) तथा परियोजना विकास सम्झौता (पीडीए)का काम जति छिटो यो, उति नै छिटो लगानीकर्ता आउने सुनिश्चितता हुने बताए ।

प्रधानका अनुसार हालसम्म आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको छ । जग्गा खरीद गरिसकिएको तथा विस्तृत परियोजना प्रतिवेदन तयार भइसके र आयोजनाको विस्तृत डिजाइन चिनियाँ कम्पनी सीड्रीले बनाइरहेको अवस्थामा कामदार भिसाका साथै वन तथा जग्गा लगायतका कुराहरुमा नेपाल सरकारले सहजीकरण गरिदिएको खण्डमा आगामी कात्तिकदेखि परियोजनाको निर्माण कार्य शुरु हुने छ ।

निर्माण अघिका सबै अनुमति प्राप्त भए २०७७ असार मध्यसम्ममा पूर्ण निर्माणमा जान सकिने आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुशनले जनाएको छ ।हाइड्रो सोलुशनका प्रमुख प्रधानका अनुसार कालीगण्डकी गर्ज उक्त कम्पनीले दक्षिण एशियामा विकास गर्न लागेको पहिलो परियोजना हो । कालीगण्डकी गर्ज निर्माण प्रक्रियामा प्रवेश गरी लगानी अभावमा अलपत्र परेको थियो । आयोजनालाई तिब्रता दिन चिनिया कम्पनीले ८० प्रतिशतसम्म लगानी गर्ने सम्झौता भएको छ ।