सुशीलबाबु थकाली/हिमालपारिको जिल्ला मुस्ताङ अनुपम प्राकृतिक श्रोत र साधनले भरिपूर्ण छ । यहाँका हिमाल, खोलानाला, वनजङ्गल, तालतलैया, झरनाहरु अमूल्य सम्पत्ति हुन् । साथै यहाँका एेतिहासिक धरोहर, मठ मन्दिर, गुम्बा, पुरातात्त्विक सम्पदा त झन् प्रमुख आकर्षणको केन्द्रबिन्दु रहिआएका छन् ।

दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने मुस्ताङमा यिनै प्राकृतिक तथा धार्मिक सम्पत्तिले गर्दा नै जिल्लाको नाम उँचाे हुन गएको छ । तर सुन्दर प्राकृतिक सम्पत्तिलाई बैना राखेर एक थाल भात बेच्ने मुस्ताङीहरुलाइ प्रायजसो फरक विषयहरु थाहा नहुन पनि सक्छ । साथै कसैलाई कसैको बारेमा सोच्ने फुर्सद पनि नहुन पनि सक्छ ।यति मात्र हाेइन, मुस्ताङमा अनेक प्रतिभाहरु समेत लुकेर रहेका छन् । फरक विचार र सोच बोकेका प्रतिभाहरु हामीमाझ धेरै नै जन्मिसकेका छन् । पुर्खादेखि छोरा-नातिसम्म आइपुग्दा मुस्ताङले धेरै युगपुरुष पाइसकेको छ ।

यसकाे एक उदाहरण हुन्- कवि भुपि शेरचन । मुस्ताङले कहिल्यै कसैको मनबाट नहट्ने शक्तिशाली कवि जन्माइसकेको छ । वर्तमानमा अहिलेका केही युवाहरू पनि यिनै महान् मानवहरुको पदचापलाई पछ्याइरहेका छन् । जसमध्येकी एक हुन्- थासाङ गाउँपालिका- २ कोबाङकी रोजिना गाैचन थकाली ।माता सुकदेवी गौचन र पिता कमलप्रसाद गौचनकी जेष्ठ सुपुत्री रोजिना गाैचन थकालीको जन्म बिक्रम सम्बत २०५६ साल फागुन २८ गते मुस्ताङको कोबाङमा भएको हो । सानैदेखि ठूलाे सोच र दृढ अभिलाषा भएकी गौचन जीवनमा दोस्रो कहिल्यै भइनन् ।

सधैँ प्रथम

सानैदेखि दुरदृष्टि भएकी गौचन विद्यालय स्तरीय कार्यक्रमहरुमा समेत सधैं प्रथम नै हुने गर्थिन् । विद्यालय स्तरदेखि कलेजसम्म आइपुग्दा समेत आफू कहिल्यै दोस्रो नभएको उनी बताउँछिन । ‘जीवनमा पढाइभन्दा अरु ठूलो कुरा केही चिज छैन,’ उनी भन्छिन्, ‘आज म जसरी अगाडि बढिरहेको छु, यसमा मेरो घरपरिवार अनि तपाईं सबैको साथ र सहयोग छ । मेरो अध्ययनको सिलसिलामा धेरै कुराहरुको अनुभव बटुलेकी छु ।’

उमेरले भर्खरै २० पुगेकी थकालीको सफलता हो– आईएसजीएजी (कृषि विज्ञान डिप्लोमा) को परीक्षामा नेपालस्तरबाट दोश्रो हुनु । एकदम कमै अङ्क अन्तर (०.२) ले उनी दोस्रो भए पनि उनले यस सफलतालार्इ भने अझै पनि प्रथम नै भएको स्वीकार गर्छिन् । यद्यपि उनी यसलाई आफ्नो मात्र सफलता नठानी समग्र मुस्ताङकै सफलता भएको बताउँछिन् । आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा उनीमा रहेको छ ।

प्रतिभावान् थकालीले २०७१ सालमा मुस्ताङको श्री जन आदर्श मावि कोबाङबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । तत्पश्चात् उनले मदन भण्डारी मेमोरियल एकेडेमी उर्लाबारीमा कृषि प्राविधिक विषय अन्तरगतको आईएसजीएजी अध्ययन सुरु गरिन् । तीनवर्षे कोर्ष अन्तरगत अन्तिम सत्र २०७५ मा पास गरिन्, त्यही पनि नेपालभरिमा नै दोश्रो स्थान हाँसिल गर्दै ।

परिवारमा सहयाेग

परिवारमा आमा-बुबा र दुईजना बहिनी । त्यसमाथि कहिले हिउँले पुरिने जाडो अनि कहिले मान्छे नै उडाउने चिसो बतास । त्यही संघर्षका बीचमा हुर्केकी चेली हुन्– रोजिना । रोजिनालाई कृषिमै निर्भर रहेको मुस्ताङी जीवनस्तर उकास्न मन छ । ‘कृषि क्षेत्रमा मुस्ताङ धेरै पछि रहेकोले धेरै नै काम गर्छु,’ उनी भन्छिन्, ‘मुस्ताङ जस्तो ठाउँको मान्छेहरू पनि यत्तिको शैक्षिक स्तरमा आउन सक्छन् भन्नु नै मेरो दृढविश्वास हो । चाडै नै एकपटक गाउँमै जान्छु आफू अध्ययन गरेको विद्यालयमा एक वर्ष अध्यापन गराउछु ।’

नेपालको ८० प्रतिशत भू-भाग कृषिमा निर्भर भए पनि सरकारले उचित स्थान नदिँदा नेपाल झन्–झन् पछि परेको उनको धारणा रहेको छ । यद्यपि कृषिमै निर्भर भए पनि आधुनिक कृषि प्रविधि अवलम्बन गर्न नसक्दा उत्पादन कम हुने र किसानहरुमा परेको मर्का पनि उनले राम्ररी बुझेकी छिन् । साथै उनले यो पनि बुझेकी छिन् कि कृषि प्राविधिकको अभावले मुस्ताङले धेरै दुःख भोगेको छ । यसैले पनि उनलाई कृषि प्राविधिक विषय अध्ययन गर्न राम्रो प्रेरणा मिलेमा अझै अगाडि बढ्ने उनको विश्वास रहेको छ ।

उनले कहिल्यै भुल्न नसकेको अर्को कुरा हो- विद्यालय व्यवस्थापन । पछिल्लो समय मुस्ताङका प्रायः सबै विद्यालयहरुमा विद्यार्थी कम हुने क्रम बढ्दै गएको छ । यसै बेला कोबाङजस्तो ठाउँमा कृषि प्राविधिक विषयको स्थपना हुनु खुसीको कुरो हो ।

कोबाङमा कृषि विषयकाको पढाइ सञ्चालन भएको खुसीमा उनी विद्यालयका प्रधानाध्यापक टिकाराम शर्मालार्इ सम्झन्छिन् । ‘यदि उहाँले यो अभियान नथाल्नुभएको भए आज कोबाङ विद्यालय अझ कति वर्षपछि धकेलिने थियो होला,’ उनी भन्छिन्, ‘जिल्लाको एउटै मात्र कृषि प्राविधिक विद्यालयलार्इ सबैले अन्तरमनबाट बुझिदिन आग्रह पनि गर्दछु ।’

सपना- कृषिमा आधुनिकीकरण

अब उनको एउटै मात्र चाहना छ- कृषिमा आधुनिकीकरण भित्र्याउँदै अन्धविश्वास हटाउने रहेको छ । भन्छिन्, ‘मुस्ताङकै स्थानीय उत्पादन स्याउ, आलु, गाजर, उवा, जौं, फापरलगायतका बालीको उत्पादकत्व बढाउन चाहन्छिन् । यही अभिप्रायका साथ उनी आईएसजीएजीमा नेपालकै दोश्रो स्थान हाँसिल गर्दै उत्तीर्ण गरेर अहिले बीएसजीएजी अध्ययनको तयारी गर्दैछिन् ।

उता बुबा कमलप्रसाद गौचन छोरीले प्राप्त गरेको सफलतामा आफू धेरै नै खुसी रहेको बताउछन् । ‘मुस्ताङको भूगोल र परिस्थितिमा हुर्केर पनि छोरीले गरेको सफलतामा नरमाउने बुबा पनि के बुबा,’ उनी भन्छन्, ‘अब झन् छोरीको सफलताका लागि मरिमेटेर लाग्नेछु ।’ अहिलेको सफलतालाई अझै उचाइमा पुगेको देख्न परिवारको तर्फबाट भरपुर सहयोग हुने उनले बताए । उनका अनुसार छोरीले निरन्तर अध्ययन पश्चात् एमएएसएजिई सम्मको सफलता हासिल गरोस् भन्नु नै हो भविस्यमा गएर मुस्ताङको मात्र नभै समग्र देशकै कृषि विशेषज्ञ बनोस् भन्ने दृढ अपेक्षा रहेको बुवा गौचनको भनाइ छ ।

Leave a Reply