बेनी नगरपालिकाले फोहोरमैला ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपछि नियमित फोहोर संकलन हुन छोडेको छ । सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा केहीदिन यता फोहोर नउठ्दा घरभित्र र सडकमै फोहोर देखिन थालेका छन् । नगरपालिकाले संकलित फोहोरमैलाको उचित ब्यवस्थापनमा चुनौती बन्दै गइरहेको भन्दै गत फागुन १ गतेदेखि लागु हुने गरी ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’ प्रालि नामक संस्थालाई जिम्मा दिने सम्झौता गरेको थियो ।

निजी कम्पनीसँग सम्झौता गरेपछि नगरपालिकाका कर्मचारीले आफँुलाई सेवासुविधामा नीजिबाट सहज नहुने र सम्झौताका बारेमा प्रष्ट नभएको भन्दै विरोध जनाउँदै आएका थिए ।विगतमा फोहोर विर्सजनमा असफल जस्तै देखिएको नगरपालिकाले निजी क्षेत्रसंगको सहकार्यले आन्तरिक खर्च ब्यवस्थापनमा समेत सहज हुने बताइरहेको अवस्थामा बजार क्षेत्रमा नियमित फोहोर उठ्न छोडेपछि बजारबासीले पटकपटक जानकारी गराउँदा समेत सुनुवाई नभएको गुनासो गरेका छन् ।

‘फोहोर ल्याउने ट्याक्टर नै आउँदैन्,‘फोहोर संकलनमा गम्भीर लापरवाही भएको छ’ रघुगंगा डेरीका सञ्चालक प्रविण शर्माले बताए । उनले न्युरोड आसपासमा बसोबास गर्नेले पटकपटक जानकारी गराएको बताए।बेनीबजारमा फोहोर संकलन नहुदाँ आसपास हुदै बग्ने म्याग्दी र कालिगण्डकी नदीबाट फोहोर फाल्ने गरिएको छ । यता बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले फोहोेर संकलन गर्ने कर्मचारीलाई संकलन गर्न निर्देशन दिइएको बताए । उनले नीजि क्षेत्रसँग सहकार्य गरेपछिको अवस्थामा कर्मचारी असन्तुष्ट भएको बताए । उनले शनिबारभित्रसम्म बेनीको फोहोर उठ्ने बताए ।

फोहोरबाट प्राप्त आम्दानीको ६० प्रतिशत प्रालि र ४० प्रतिशत आम्दानी पाउने भएपनि कम्पनीले फोहोर संकलनका लागि नगरपालिकामा रहेका ट्याक्टरको प्रयोग, तीनजना चालक सहित कर्मचारीको तलबसुविधा, मर्मतसम्भार, इन्धनको खर्च गर्नुपर्ने छ । निजी कम्पनीबाट परिचालन हुदाँ भविस्यमा हटाउन सक्ने भन्दै कर्मचारीको आशंका ब्यक्त गर्ने गरेका छन् ।

निजी तथा स्थानीयतहमा नै उत्कृष्ट वालिङ नगरपालिकाको फोहोर ब्यवस्थापनको मोडेललाई बेनी नगरले प्रयोगमा ल्याउने चाहना अनुसार नै निजी कम्पनीलाई अगाडी ल्याइएको भएपनि सुरुवातमै अलमलमा परेपछि समस्या देखिएको छ । प्रत्येक घर, गल्ली, खोला किनार,सार्वजनिक स्थलबाट फोहोरमैला संकलन गर्ने गरिएको छ । बढ्दो बजारीकरणसंगै एकदशक फोहोर रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको फोहोर नयाँ ब्यवस्थापसंगै कम्पोस्ट मल, बायोग्यास लगाएत विभिन्न माध्यमबाट उपयोग हुने भएकाले पनि बेनी नगर तथा आसपासका क्षेत्र स्वच्छ र सफा हुने बताइएको छ।

Leave a Reply