बेनी नगरपालिकाले नगरपालिका भित्र सञ्चालित निजी क्लिनिक तथा स्वास्थ्य संस्थालाई आवश्यक मापदण्ड पुरा नगरे बन्द गर्ने चेतावनी दिएको छ । स्वास्थ्य संस्थाका मापदण्डलाई कार्यान्वयनमा आक्रमक देखिएको नगरपालिकाले सदरमुकाम बेनीभित्र मापदण्ड विपरित सञ्चालित क्लिनिक, डेन्टल र ल्याबहरूलाई मापदण्ड पुरा गरेर दर्ता तथा नविकरण निर्देशन दिएको हो ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले गर्न एक महिनाको समय दिने निर्णय गरेको प्रबक्ता रामकृष्ण बराईलीले बताए । ‘प्रक्रिया नपुगेकालाई समयसिमा सकिएपछि बन्द गछौं,‘अबको अनुगमनमा उहाँहरूले मापदण्ड पुरा गरेको हुनुपर्छ’ बराईलीले बेनीअनलाइनलाई भने । उनका अनुसार सदरमुकाम बेनीमा मापदण्ड विपरितका क्लिनिक तथा ल्यावका बारेमा गुनासो समेत आउने गरेको बताए ।

त्यस्तै नगरपालिका भित्र स्वास्थ्यकर्मीले सञ्चालन गरेका औाषधी पसलका बारेमा समेत सेवाग्राहीबाट गुनासो आउन थालेपछि वडास्तरबाटै जानकारी लिने प्रयास भइरहेको बताए। नगरपालिकाले गत माघमा भएको नगरसभाबाट स्वास्थ्य संस्था दर्ता, नविकरण तथा सञ्चालन सम्बन्धी मापदण्ड पारित गरेको थियो । अनुगमनका क्रममा ८ वटा स्वास्थ्य संस्थाहरुले मापदण्ड पुरा नगरेको भेटिएको थियो ।

बैठकले बेनपा वडा नं ३ भकिम्ली र वडा ंनं ४ सिंगामा बर्षासँगै आएको असिना, बाढीपहिरोले पुगेको क्षतीबाट पीडितलाई राहत उपलब्ध् गराउन विपद् ब्यवस्थापन समितिलाई सिफारिस, कृषि ज्ञान केन्द्रसँग सहकार्य गरी फलफूल बिरुवा, खाद्यबालीको बिउ वितरण सहित कृषकको समस्याका बारेमा राय सुझाव संकलन गर्ने बताए । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिकाको निर्णयलाई कार्यान्वयनमा ल्याउने गरी अगाडी बढ्न जनप्रतिनिधिलाई निर्देशन दिएका थिए ।

Leave a Reply