म्याग्दीको सदरमुकाम बेनीमा केहीदिन अगाडी सञ्चालित ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ ले ११ औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षेप गरेपछि चुलिएको विवादसँगै मेला, महोत्सव सञ्चालनका आवश्यक पर्ने मापदण्ड बनाउने बहस सुरू भएपछि मापदण्ड बनाउने कार्यमा बेनी नगरपालिका जुटेको छ ।

बेनीबजार तथा नगरपालिका भित्रका सबै १० वडामा सञ्चालन हुने मेला महोत्सवलाई नियमन गर्नुपर्ने अवस्थालाई मध्यनजर गदैं नगरपालिकाले समेत कार्यपालिकामा छलफल गरी मस्यौदा तयार पारिएको छ । शुक्रबार कार्यपालिकाको ३८ औ नियमित बैठकमा एक वटा वडामा वर्षमा बढीमा तीन वटा मेला लगाउन पाउने, बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने, नगरपालिकाको अनुमतीमा वडा स्तरीय बढीमा तीन दिन र नगर तथा जिल्ला स्तरीय बढीमा ५ दिन सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको प्रबक्ता रामकृष्ण बराईलीले बताए ।

उनका अनुसार मेला महोत्सव सम्बन्धि मापदण्डलाई कार्यान्वयन गर्ने आइतबार जिल्ला प्रशासनमा हुने छलफलमा पेश गरिने बताए । नगरपालिकाले तयारी गरेको मापदण्डमाविद्यालय क्षेत्रमा मेला महोत्सव सञ्चालन गर्न नपाउने र मदिरा जन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने लगाएतका छन्। बेनीमा हरेक तीन बर्षमा सञ्चालन हुने म्याग्दी महोत्सव तथा अन्य मेला तथा महोत्सवमा मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्ने बताइएको छ। यता मापदण्डलाई बेवास्ता गर्नेलाई जरिवाना सहित आवश्यक कानुनी कारवाहीको प्रस्तावमा समेत औपचारिक छलफल भएको स्रोतले बेनीअनलाइनलाई बतायो ।

आइतबार जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, म्याग्दी उद्योग वाणिज्य संघ सहित अन्य सरोकारवाला निकायको उपस्थितीमा छलफल हुने छ । ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयभित्र मेला सञ्चालन गर्ने गरिएकाले पनि समस्या हुने गरेको छ भने सदरमुकाम बेनीमा रातीसम्म कार्यक्रम हुदाँ कुटपिटका घटना हवात्तै बढ्नुका साथै विकृति मौलाएकोमा चिन्ता ब्यक्त गरिएको छ । केहीदिन अगाडी रेडियो म्याग्दीको महोत्सवमा प्रशासनसँगको सहमती अनुसार समयसिमाभित्र नसकेको भन्दै प्रहरीले ब्यानर च्यातेर प्रवेश निषेश गरेपछि मापदण्डको बहस चर्किएको थियो ।

Leave a Reply