जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘पुलिस अफ् द मन्थ’ कार्यक्रम घोषणा गरेको छ । प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय म्याग्दीले बैशाख महिनादेखि नयाँ कार्यक्रम पुसिल अफ द मन्थ सुरु गरेको हो । बैशाख महिनादेखि महिनाभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट एक जनालाई नगद पुरस्कार दिने गरी ‘पुलिस अफ् द मन्थ’ कार्यक्रम घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले उक्त कार्यक्रमको घोषणा गरेका हुन् । पुलिस अफ् द मन्थ कार्यक्रम छनोटका लागि प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको अध्यक्षतामा ३ सदस्यीय छनोट समिति गठन गरिएको छ ।सामाजिक कार्य तथा प्रहरी कर्मचारीको वृत्ति विकासमा विभिन्न कार्यक्रमको सुरुवात गरेका प्रनाउ मरासिनीले प्रहरी कर्मचारीलाई सिपमूलक तालिम प्रदान गरी सक्षम जनशक्ति उत्पादन गर्न उनीहरुबाटै विभिन्न तालिमहरु प्रदान गरिने बताए।

‘उत्कृष्ट सेवा दिनेलाई सधै सम्मान गर्नुपर्छ,‘आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्नेछौ’ प्रनाउ मरासिनीले भने। उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अझैसम्म समाजमा कायमै रहेको प्रहरी र समुदाय बिचको खाडल अन्त्य गरी म्याग्दी जिल्लाको शान्ति सुरक्षाको स्थितिमा अपेक्षाकृत सुधार ल्याउन प्रतिबद्ध रहेको बताए । जिल्लामा प्रनाउको जिम्मेबारी सम्हालेलगत्तै मरासिनीले ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकीमा पुगेर स्थानीयसँग सहकार्य गरी अपराधजन्य गतिविधिलाई न्यूनिकरण गर्ने अभियानमा जुट्न निर्देशन दिएका थिए । उनले समुदायसँग सहकार्य गरी अपराधजन्य गतिविधि अन्त्यमा भूमिका खेल्ने प्रहरीको मुल्याङ्कन दिर्घकालिन हुने बताएका थिए । सम्मान कार्यक्रमबाट आत्मबल बढ्ने प्रहरीले जनाएको छ ।

Leave a Reply