चौरासी पूजाको रकम गरिबको उपचारका लागि सहयोग

म्याग्दीको सदरमुकाम बेनीबजारसैगै सीमाना जोडिएको पर्वत बेनीका एक परिवारले आफ्नी आमाको चौरासी पूजामा संकलित भएको रकम गरिबको उपचारका लागि सहयोग गरेका छन् । पर्वत बेनीका रुद्र गुरुङले आफ्ना आमा गौसुवा गुरुङको बैशाख ६ गते सम्पन्न चौरासी पूजाबाट संकलन भएको ५५ हजार ५५५ रुपैयाँ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको छ ।

ओमकुमारी शान्ति कोषले विभिन्न दाता र संघसंस्थाहरुबाट सहयोग जुटाएर गरिब,असहाय र उपचारका क्रममा आर्थिक अभाव भएका विरामीहरुको उपचारमा सहयोग गर्दै आएको छ । आफ्नो चौरासी पूजामा संकलन भएको रकम गरिब र असक्तहरुको उपचारका लागि दान गर्ने आमाको इच्छा अनुसार उक्त रकम ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको रुद्र गुरुङले बताउनुभयो । गुरुङ म्याग्दीका विभिन्न सामाजिक,वित्तिय,शैक्षिक तथा परोपकारी संघ संस्थामा क्रियाशील हुनुका साथै गुरुङ कल्याण कोषका अध्यक्ष समेत हुनुहुन्छ ।