समाजसेवी चन्द्रकुमार केसीले लायन्स क्लवको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । सामाजिक तथा मानवीय सेवाबाट राष्ट्रका लागि ठूलो योगदान पु¥याएको भन्दै लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालले शुक्रबार पोखरामा आयोजित बार्षिक अधिवेशनबाट केसीलाई संस्थाको अन्तराष्ट्रियस्तरको मेडल र सम्मानपत्रले सम्मान गरिएको हो।

कलेजोमा समस्या देखिएपछि भारतमा पुगेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी एकबर्षिया सियाना रन्तिजालाई कलेजो दान दिएका केसीले मानवीय सेवामा सबैभन्दा ठूलो जोखिम मोलेर बालिकाको ज्यान जोगाएको भन्दै लायन्सका अन्तराष्ट्रिय निर्वतमान अध्यक्ष नरेश अग्रवाल, पूर्व अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतान र डिष्ट्रिक गर्भनर एमजेएफ लायन अशोक श्रेष्ठले सम्मान गरेका थिए । मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राखेको खेतानका भनाई छ। सम्मानित हुने केसी म्याग्दी जिल्लामा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत हुन्।

म्याग्दीका दधिचि’ (अरुका लागि आफ्नो शरिरको अङ्ग समेत काटेर दिनसक्ने दानि व्यक्ति ) समेत भनिने केसीको सामाजिक एवम् मानवीय योगदानका बारेमा चर्चा गरिएको सिनियर एओजि एमजेएफ लायन्स सन्तोष रावलले बताए । केसीको करिब ३० प्रतिशत कलेजो निकालेर बालिकाको शरीरमा प्रत्यारोपण गरिएको थियो । सम्मान कार्यक्रममा केसीले आफ्नो बाँकी जीवन शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने बाचा गरेका थिए ।

Leave a Reply