पाखापानीमा नेपाल टेलिकमले ‘थ्री’ जी सेवा सञ्चालन गरेको छ । दुर्गम क्षेत्रका स्थानीय बासिन्दाहरुलाई सञ्चारको सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले रघुगंगा गाउँपालिकको–६ पाखापानीमा रहेको मोबाइलको बिटिएस टावरबाट शुक्रबार देखी ‘थ्री’जी सेवा सुरू गरिएको हो । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा विस्तार संगै पाखापानी, झिँ, चिमखोला, दग्ग्नाम लगाएत आसपासका बस्तीका स्थानीय ‘थ्री’ जी सेवाबाट लाभान्वित भएका छन् ।

टावरबाट थ्रि जी को परिक्षण सफल भएपछि स्थानीय उत्साहित भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकम म्याग्दीका शाखा प्रमुख विष्णुदेव शाहले जानकारी दिए । उनले जिल्लाभर विद्युत पुगेको वडामा सेवा विस्तार गरिने बताए ।

गाउँपालिका भित्रका पुराना टावरलाई मर्मत गरी मंगला र रघुगंगाको सिमानमा रहेको टोड्केमा समेत थप सेवा विस्तार भइरहेको बताए । जिल्लाका पाँचवटै स्थानीय तहभित्रका वडामा टेलिकमले सेवा विस्तारलाई प्राथमिकता दिएको उनले बताए । सदरमुकाम बेनीबजारमा तीनमहिना भित्र ‘फोर’ जी सेवा सञ्चालन गरिने प्रमुख शाहको भनाई छ । नयाँ टावर विस्तार गरिएका क्षेत्रमा निशुल्क सिम समेत वितरण गरिएको छ । टु जी सेवा विस्तार गरिएका स्थानमा तेस्रो पुस्ता थ्रीजी सेवा जडानको योजना समेत रहेको छ ।

Leave a Reply