भूकम्पीय शिक्षासम्बन्धी विद्यालयमा अध्ययरत विद्यार्थीलाई भुकम्पीय शिक्षा दिने उद्देश्यले पर्वत जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू होराइजन आवासीय माविमा यन्त्र जडान गरिएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले स्विजरल्यान्डको लुजान विश्वविद्यालयको सहयोगमा जडान गरिएको यन्त्रको उद्घाटन गदै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भुकम्पको जोखिम न्यूनिकरणमा उपकरणको जडानसँगै सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

२०७२ सालमा गएको भूकम्पबाट नेपालमा यन्त्रको प्रयोगसँगै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । स्विजरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका कार्यक्रमका अध्यक्ष शिव सुबेदीले भूकम्पपछि नेपालमा यन्त्रउपकरणसँगै आवश्यक शिक्षालाई अपेक्षा गरे अनुसार अगाडी बढाउन नसकिएको बताए । उनले भूकम्पको प्रभाव नभएका देशमा समेत विद्यालयस्तरमै पाठ्यक्रममार्फत शिक्षा दिने गरिएको भएपनि विश्वमै जोखिम देशभित्र पर्ने नेपालमा अझै बेवास्ता भइरहेको बताए ।

उनका अनुसार साविकको धौलागिरी अञ्चल भित्रका ६ वटा निजी तथा आवासीय विद्यालयमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको बताए । पर्वतको न्यू होराइजन आवासीय मावि, ग्रामप्रकाश मावि लेकफाँट, गुरूकुल एकेडेमी कुस्मा, गलकोट एकता आवासीय मावि बागलुङ, पश्चिम म्याग्दीको दरबाङमा अवस्थित जनप्रिय मावि र मुस्ताङको जनहित मावि जोमसोममा यन्त्र जडान गरिने छ । बागलुङको गलकोटमा राखिएको यन्त्रको प्रभावकारीताले समेत थप यन्त्र जडान गरिने छ । मुस्ताङ र म्याग्दीको दुईवटा विद्यालय जडान गर्न बाँकी छ ।

यन्त्र जडानको अवसरमा होराईजन विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई शिक्षा दिने बताए ।कम्प्यूटर कक्षामा २४ घण्टा इन्टरनेटको वाइफाइ, ब्याकअप सहित जडान गरिएको बताए । एउटा यन्त्र जडानका लागि एक लाख रुपैयाँ पर्छ । यन्त्र जडान भएपछि ४ रेक्टर तलका भूकम्पको पनि मापनका साथै इपिसेन्टर, दूरी, गहिराइ र दूरीको म्याग्नेच्युड पनि पत्ता लगाउन सहज हुने भएको छ ।

यन्त्र जडान कार्यक्रममा जलजला गाउँपालिकाका विपद् ब्यवस्थापन समितिका संयोजक एवम् वडा अध्यक्ष भिष्म मल्ल, वडा अध्यक्ष देबेन्द्र भण्डारी, तुलसीराम रेग्मी लगाएत अभिभावक, स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन होराईजनका सहायक प्रधानध्यापक नारायण पौडेल, स्वागत प्रधानध्यापक अर्जुन पौडेल र समापन सञ्चालक समिति अध्यक्ष दल बहादुर जिसीले गरेका थिए । यन्त्रको प्रभावकारी प्रयोग तथा भूकम्पीय शिक्षाका लागि विज्ञान, सामाजिक, कम्प्युटर शिक्षक र प्रअलाई पोखरामा बोलाएर भूकम्पसम्बन्धी आवश्यक जानकारी दिन कार्याशाला गोष्ठीको समेत आयोजना गरिएको थियो ।

Leave a Reply