म्याग्दीको मंगला गाउँपालिका ५, अर्मनका किसान मानव मूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा कुखुरा र भेडाबाख्रा, मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् ।

पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन । म्याग्दीमा नै पहिलो पटक मंगला गाउँपालिका ५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रसायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।

अर्मनकी किसान देवकुमारी सापकोटाले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिक स्थलमा पिसाव संकलन गरी बालीमा हाल्न थालेको बताए । ‘घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालिमबाट पाएका छौं’ उनले भने, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो । गाउँलेले सोही अनुसार मान्छेको मलमुत्र जम्मा गरेर खेतीबालीमा हाल्ने गरेका छौं’ सापकोटाले भने  ।

मंगला गाउँपालिकाले प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ ।गाउँपालिकाले विद्यालय र सार्वजनिक स्थानमा मानवमुत्र संकलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ । शौचालयमा मुत्र विर्सजन गर्नुका साटो स्थानिय र बटुवाहरुले समेत जर्किन(ग्यालिन)मा गर्ने गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

स्थानीय किसान मनप्रसाद कडेलले मानव मूत्रको प्रयोग गरी गाउँका किसानले खेतीपाती गर्न थालेका बताए । २०६५ सालको मंसिरबाट घर–घरमा पिसाब संकलन गरिएको र बोटविरुवा तथा तरकारीमा हाल्ने गरिएको उनले बताए ।
म्ांगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानव मूत्र सम्बन्धी ५ दिने तालिम दिइसकेको छ । तालिमपछि किसानले मानव मूत्रबाटै तरकारी फलाउने प्रतिवद्धता व्यक्त गरेका बानियाँले जानकारी दिए।

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उनले  बताए। ‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’ उनले भने , ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं । किसान हौसिएका छन् ।’ उहाँका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ ।

शुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाव संकलन गरेका छन् । तरकारी लगाएको ठाउँमा हाल्ने गरेका छन् । एक लिटर पिसावमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्नसकिने उनले बताए ।प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मूत्र संकलन गर्दा राम्रो हुने उनले बताए ।

Leave a Reply