कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनीबजार संरक्षणका लागि शुरु गरिएको अस्थायी तटबन्धको निर्माण कार्य शुस्त गतिमा अघि बढेको छ । कालीगण्डकीमा पानीको बहाव बढेपनि बाढीको उच्च जोखिममा रहेको वेनी बजार बचाउन सुरु गरिएको अस्थाई तटवन्ध निर्माणमा ढिलाई भएपछि स्थानीय चिन्तित भएका छन् ।

कालीगण्डकी र म्याग्दी नदीको दोहोरो कटानबाट बेनी संरक्षण गर्न करोडौं खर्चेर लगाएको आरसीसि तटवन्ध बाढीले बगाएपछि बेनी संरक्षण जिम्मेवारी पाएको पोखराको रुपाताल संरक्षण एकिकृत परियोजनाले ३ सय ३८ मिटर अस्थाई ग्याभिन भर्ने काम थालेको हो । ठेक्का प्रकृयाबाट काम गर्दा ढिलाई हुनेभएपछि ३ करोड ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत तटवन्ध बनाउन सुरु गरिएको थियो ।

‘ठेक्का प्रकृयाबाट काम गराउँदा ढिला हुने भएकोले उपभोक्ता समिति मार्फत तटवन्धको काम सुरु भएको हो । छिटो काम गर्न ४ प्याकेजका उपभोक्ता समिति गठनगरी काम भएपनि केही ढिलाई भएको छ’ उपभोक्ता समिति अध्यक्ष उत्तम कर्माचार्यले भने, ‘ढुङ्गा ब्यवस्थापनमा समस्या छ । उपभोक्ता समितिको रेखदेख नपुग्दा कामदारबाट गुणस्तरमा केही कमीकमजोरी भएको छ ।’

बाढीले क्षति नपुर्‍याएको तर जोखिममा रहेको पुराना आरसिसी वाल संरक्षण गर्न नदीको सतहभन्दा ५ फिट गहिरो फाउण्डेसनमा ७ फिट चाक्लो एप्रोन ग्याभिन राखिएको छ । यसैबीच तटवन्ध निर्माण गर्दा नदीको बहावमा गम्भीर असर पर्नेगरी ठूला ढुङ्गा सवै फुटाईएको तथा तटवन्धमा साना गेगर प्रयोग गरिएको भन्दै बेनी नगरपालिकाले समेत उपभोक्ता समितिलाई सचेत गराएको छ ।

Leave a Reply