मुलुक संघियतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजारको मानिसहरुको चहलपहल कम भएको छ । स्थानीय निकाय बलियो बन्दै जानु,बैंक तथा वित्तिय संस्थाहरुले ग्रामिण वस्तीहरुमा सेवा विस्तार गर्नु,संचार,स्वास्थ्य,बजार र ग्रामिण बस्तीसम्म यातायात सेवाको पहुँच बिस्तार भएपछि छोराछोरीलाई पढाउन,व्यापार व्यावसाय गर्न वा सुविधाको खोजिमा शहर झरेका मानिसहरु पनि गाउँ फर्केका छन्।

दुई वर्ष अघिसम्म भाडामा कोठा पाइन समेत हम्मेहम्मे पर्ने बेनी बजारमा अहिले कैयौं घरहरु रित्ता भएका छन् भने सटरहरु खालीखाली छन् । मानिसको चहलपहल घटेसँगै बेनी बजारमा सञ्चालित व्यावसायले दैनिक गर्नेे लाखौको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाँउबाटै हुन थालेपछि सदरमुकाम बेनीबजार सुनसान जस्तै हुन थालेको छ ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको हो । ५० मिटर पाइपको लागि सिफारिस लिन सदरमुकाम धाउनुपर्ने वाध्यताको अन्त्य भएको छ’ बेनपा ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले भन्नुभयो—‘अव स्थानीय तह नै बलिया भएपछि सदरमुकामसंगको काम पनि घट्दै गएको छ ।’सदरमुकाम छाडेर गाँउ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन, संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमंग छाएको पाईन्छ ।

गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यासायमात्रै होईन सरकारी अड्डासमेत सुनसान छन । जिल्लाभरबाट बिकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।संघियताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवतजावतमा कमि आएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताउनुभयो।

अहिलेसम्म उद्योगधन्दाहरु निरन्तर चलेपनि व्यापारमा भने निक्कै कमि आएको महासचिव गौतमको बुझाई छ । ग्रमिण वस्तीमा यातायातको पहुँच नहुदाँ दैनिक उपभोग्य वस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाँउघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तुहरु सोही मुल्यमा आफ्नै घरपायकमा पाइन थालेका छन् ।

यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता संघियता कार्यन्वयनसँगै टरेको छ । स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन । सदरमुकामबाट हुने धेरैजसो काम गाँउमै हुने हुदाँ सदरमुकामको व्यापार खुम्चिने र गाँउवस्तीमा चहलपहल देखिन थालेका हुन ।

लामो समयदेखि जनप्रतिनिधीबिहिन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउदैं सदरमुकाममै थन्किएका थिए। निर्वाचनपछि स्थानीय निकायका कामकाज चुस्त समेत देखिन थालेका छन । सचिव मार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आज भोली सबै गाउँपालिका तथा वडा तिर फर्किएको छ ।

स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन ।
सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी, होटलजस्ता व्यवसाय भने संकटमा परेका छन । बरु स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताउदाँ स्थानीय सदरमुकाम क्षेत्रका जग्गाको भाउँ भने आकासीएको छ । म्याग्दीका दरबाङ, तातोपानी जस्ता स्थानीय बजार अहिले चम्किएका छन ।

सदरमुकाममा चहलपहल घटेपछि लामो समयदेखि आफ्नो थाँतथलो छाडेर जिल्ला सदरमुकाम छिरेका धेरै व्यापारीहरु अहिले स्थानीय केन्द्रतर्फ आकर्षित हुन थालेका छन । सदरमुकाम केन्द्रित राजनीति व्यापार वा जागिरमा लागेका अधिकांश मानिसहरु समेत अहिले आआफ्ना स्थानीय तहमा स्पेस (ठाउँ) बनाउन खोजिरहेका छन ।

संघियताले सरकारी कामकाज स्थानीय तहमा पुग्दा सदरमुकाम आउनेहरुको चाप घटेपनि गुणस्तरीय स्वास्थ्य, शिक्षा रोजगारजस्ता सेवाहरु पूर्णतय स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम आउने मानिसहरुको संख्या चर्चा गरेजस्तै नघट्ने बताउनुहुन्छ म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनकुमार विश्वकर्मा । बेनीबजार मुक्तिनाथ प्रवशद्धार, धार्मिक तथा पर्यटकीइ हिसावले पनि महत्वपूर्ण भएकाले स्थानीयको अभाव पर्यटक भित्राएर पुरा गर्न सकिने उहाँको बुझाइ छ । ———

Leave a Reply