म्याग्दीकी देबी गर्बुजाले दोस्रो मिस नेसनल आइकन–२०१९ को ताज पहिरिईन् । काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार साँझ अबेर सम्पन्न प्रतियोगितामा रघुगंगा गाउँपालिका–४ दग्नामकी देबीले ताजसहित पुरस्कार स्वरूप २६ लाख मूल्य बराबरको ड्याट्सन कार र ट्रफी जितिन् ।

विभिन्न चरणमा प्रतिस्पर्धा गदैं फाइनल प्रतिस्पर्धामा छनौट भएकी गर्बुजाले १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जितेकी हुन् । ब्राइट इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा गर्बुजाले आफ्नो सुन्दर जिल्ला म्याग्दी र बेनीबजारसँगै कला, संस्कृतिको जर्गेनामा निरन्तर लाग्ने बताउँदै प्रतियोगितामा उपाधी चुमेकी हुन् । दग्नामको जनता माविबाट माध्यामिक तहको पढाई सकेर बेनीस्थीत माउण्ट एभरेष्ट आवासीय माविबाट प्लस टु गरेकी गर्बुजा प्रतियोगिताको सुरुवात देखिनै अग्रस्थानमा थिईन् ।

‘कल्पना पनि गरेको थिईन्,‘क्षमताले भ्याएसम्म राम्रो गरेको थिए, उपाधी नै हात परेपछि खुसीको सीमै छैन’ गर्बुजाले बेनीअनलाइनलाई भनिन् । म्याग्दी जस्तो दुर्गम जिल्लाबाट काठमाण्डौमा आएर प्रतियोगितामा प्रतिस्पर्धा गदै उपाधी जित्नु ठूलो सफलता भएको बताईन् । ‘मैले मौलिकता झल्कने पहिरन सहितको प्रस्तुतीलाई प्राथमिकता दिएको थिए,‘उपाधीले भविस्यमा थप मेहनत गर्ने बाटो खोलिदिएको छ’ गर्बुजाले भनिन् ।

ताजसँगै कार जित्नु मेरो अहोभाग्य भएको बताउँदै कार बुबाआमाको सेवामा प्रयोग गर्ने बताईन् । सामुदायिक विद्यालयबाटै माध्यामिक तहको पढाई सकेर काठमाण्डौमा शिक्षासँगै चर्चित प्रतियोगितामा विभिन्न प्रश्नको सटिक र तर्कपूर्ण जवाफ दिन सक्नु ठूलै यूद्ध जितेजस्तै भएको उनको भनाई छ । बाल्यकालदेखि गाउँमा हुने मेलापर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गर्बुजा एकता यूवा क्लव दग्नामकी सक्रिय सदस्य समेत रहेको विद्यालयका प्रधानध्यापक गुन बहादुर पुनले बताए ।

प्रतियोगितामा मञ्जना राईले फस्ट रनर्सअप भइन्। मञ्जनाले उपाधिसँगै यमाहाको रेजी स्कुटी पाइन् भने सेकेन्ड रनर्सअप भएकी धादिङकी समृद्धी कार्कीले नगद ५० हजार र खोटाङकी मुना राईले २० हजार नगद प्राप्त गरेको ब्राइट इन्टरटेनमेन्टका अध्यक्ष तथा गायक धनीराम राईले बताए ।

‘प्रतियोगितामा दुर्गम क्षेत्रमा प्रतिस्पर्धीले नै उत्कृष्ट प्रस्तुती दिएका छन्,‘सौन्दर्य मात्रै नभई ग्रामिण क्षेत्रमा लुकेका क्षमतालाई सार्वजनिक गर्ने अवसर पनि हो’ राईले भने । उनले विजेतालाई स्टेजमै कार, स्कुटी र नगद प्रदान गरेको बताए। प्रतियोगितामा डा. माधव मल्ल, डा. नवल पराजित, ज्ञानेन्द्र चन्द, उमेश गुरूङ र बेन्जु सरोजले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पहिलो प्राथमिकता पढाईलाई दिन्छुः गर्बुजा
दग्नामका इ्रन्द्र बहादुर र थममायाँ गर्बुजाकी छोरी २२ बर्षिया देवीले आफ्नो पहिलो प्राथमिकता शिक्षा नै भएको बताईन् । ब्यवस्थापन संकायबाटै स्नातक सहित स्नातकोत्तरसम्मको पढाईलाई प्राथमिकता दिदैं कला र संस्कृतिको संरक्षण तथा विभिन्न प्रतियोगितामा सहभागिता जनाउने बताईन् ।

‘यो सफलताको एउटा आधार शिक्षा पनि हो,‘मैले भविस्यलाई सुन्दर बनाउन पढाईलाई प्रयाप्त समय दिनुपर्छ’ गर्बुजाले भनिन् । उनले उपाधीसँगै अभिभावकको आँखाबाट खसेको खुसीको आँसुले समेत थप जिम्मेबारी थपिएको बताईन् । उनले पढाईसँगै राष्ट्रको सेवा गर्ने सोच रहेको बताईन् । राष्ट्रसेवक कर्मचारीको रुपमा समेत आफ्नो भाबी यात्रालाई अगाडी बढाउने सोच रहेको उनको भनाई छ । उनले पढाईसँगै समाजसेवमा लाग्ने योजना समेत रहेको सुनाइन् ।

Leave a Reply