मालिका गाउँपालिका–६ दिच्यामका ७८ बर्षिय ओमप्रसाद रोका विगतमा सामाजिक सुरक्षा भत्ता बुझ्न दरबाङमा जाने गरेका थिए । आफन्तको सहयोगमा दिनभरी बैंकभित्र लाइनमा बसेर भत्ता बुझ्ने गरेका रोकाले यसपटक गाउँमै भत्ता बुझे । गाउँबाट यातायातको साधन सहित परिवारका सदस्यालाई लिएर बैंकसम्म जाने झन्झटबाट दरवाङ दुखुका अपाङ दिलबहादुर विकले वडामै भत्ता बुझेपछि उत्साहित भए । ‘घरदैलोमै भत्ता पाएपछि उत्साहित भएको छु,‘विगतमा भत्ताको धेरै बाटोखर्चमै सकिन्थ्यो’ देविस्थानका ७३ बर्षिय गुङ्गु घर्तीले भने ।

आफ्नै नाममा भएको खातामा पैसा निकाल्न बसमा दरबाङसम्म पुगेर फर्कदा यातायात खर्च सहित खानपिनमै सकिने पैसा र समयको बचत भएको भन्दै गाउँमै भत्ता पाउन थालेपछि निकै सहज भएको घर्तीको भनाई छ । रोका, विक र घर्तीजस्तै मालिका गाउँपालिका भित्रका ज्येष्ठ नागरिक, अपांगता भएका ब्यक्ति एकल महिलालाई दरबाङमा रहेको गरिमा विकास बैंकले गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी वडामै पुगेर सेवा दिन थालेपछि बृद्धबृद्धालाई निकै सहज भएको छ । गाउँपालिका भित्र ७० बर्ष नाघेका ज्येष्ठ नागरिकले भत्ताको नाममा सास्ती हुने विगतलाई विर्सदै आगामी दिनमा पनि घरदैलोमै सेवा दिन अनुरोध गरेका थिए ।

‘गाउँमै भत्ता बुझ्दा फरक अनुभुती हुन्छ,‘स्वास्थ्यको समस्याले धेरैले बैंकसम्म पुग्न समस्या भइरहेको छ’ बिमका ७४ बर्षिय पलविर जुग्जालीले भने । उनले बृद्धबृद्धालाई समस्या हेरेर घरदैलोमै भत्ता दिने वातावरणले जनप्रतिनिधिप्रतिको सम्मान समेत बढ्ने बताए । गरिमा र प्रभु बैंकले गाउँपालिका भित्रका ७ वटा वडामा वडास्तरमै पुगेर सेवा दिने गरेको छ । भत्ता वितरणका लागि गत चैत्र महिनादेखि वडास्तरमै पुगेका गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरी शर्माले बृद्धबृद्धाको अनुहारमा देखिएको खुसीले भविस्यमा पनि भत्ता वितरणलाई थप प्रभावकारी बनाईने बताए । ‘वडामै पुगेर भत्ता वितरण गरेका छौ,‘घरआगमनै भत्ता पाउँदा धेरै खुसी देखिनुहुन्छ’ शर्माले भने ।

उनले गाउँपालिकाले भत्ता वितरणमा गरिएको सम्झौता अनुसार नै गाउँमै पुगेर सेवा दिएकाले आगामी दिनमा पनि बृद्धबृद्धालाई दरबाङसम्म आउनुपर्ने भन्झटबाट मुक्त गरिने बताए । गरिमाले वडा नं १ निस्कोटमा १ सय १२ जना, वडा नं ५ देविस्थानमा २३१ जना, वडा नं ६ दरबाङमा ६९ र वडा नं ७ बिममा १३४ जनालाई वितरण गरेको छ । गाउँपालिकाकै वडा नं २, ३, ४ मा प्रभु बैंकले वितरण गर्ने गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता अनुसार नै घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय अनुसार वित्तिय संस्थाले समेत काम गरेकाले सहज भएको बताए ।

‘वडा, टोलटोल अनि घरघरमै पुगेर वितरणलाई प्रोत्साहन गरेका छौ,‘कर्मचारीको अभावले पनि समस्या भइरहेको छ’ रोकाले भने । ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई वडा कार्यालयमै आउन समेत समस्या हुने भएकाले वडा कार्यालयमार्फत जनप्रतिनिधको सहयोगमा घरमै गएर वितरणलाई प्राथमिकता दिएको बताए । जिल्लामा सबै ६ वटै स्थानीय तहमा सरकारी तथा निजी बैंकसँग भत्ता वितरणको सम्झौता भएपनि सरकारी बैंकमा भत्ता पाउन बृद्धबृद्धालाई फलामको चिउरा चपाएजस्तै हुने गरेको छ ।

Leave a Reply