विहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो,मल,पानी र विरुवासंग खेलीरहने बेनी नगरपालिका २ खवराका चन्द्रवहादुर कार्कीले तरकारी बारीबाट नै दिनमा सयौं मानिसहरुलाई नमस्कार फर्काउनु हुन्छ ।‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहाकहरुलाई नमस्कार फर्काउदै उनीहरुले रोजेको तरकारी टिपेर ग्राहाकलाई दिदैं भलाकुसारीसम्म गर्न भ्याउने हँसिला ५८ वर्षिय कार्की म्याग्दीका लागि आग्र्यानिक तरकारीका पिता मानिन्छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खवराका कार्कीका लागि घर अगाडीको तरकारी बारी नै युरोप र अमेरिका बनेको छ । ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती शुरु गरेका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन् ।तरकारीको विऊ र विरुवा समेत आफ्नै नर्सरीमा उत्पादन गरेर तिनै विरुवा मार्फत व्यावसायिक रुपमा नै आग्र्यानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेर नै मासिक रु ६५ हजार भन्दा बढी आम्दानी गर्नुहुन्छ ।

कार्की जस्तै अर्का कृषक छन् बेनपा २ रोहोटेका शोभित शर्मा । शर्माले व्यावसायिकरुपमा तरकारी खेती गर्न लागेको करिब २० वर्ष भयो । यो २० वर्षको अवधिमा शर्माले तरकारीबाट नै रु ५० लाख भन्दा बढिको सम्पत्ति जोडिसक्नुभएको छ।

‘२० वर्ष अघिसम्म परिवारको विजोग थियो’ सानै उमेरमा बुबाको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालेका ३८ वर्षिय शर्माले भन्नुभयो ‘साँझ विहान खाने कुरा हुदैनथ्यो, घरको जिम्मेवारीले गर्दा पढ्न पनि सकिन्,विदेश जाने पैसा भएन र शुरु गरें २ रोपनी पाखोवारीमा तरकारी खेती’ २० वर्ष अघिको दुःख सम्झदै शर्माले भन्नुभयो ‘त्यही पाखोवारीमा गरेको तरकारी खेतीबाट नै मेरो जीवनमा पनि हरियाली छाउँदै आयो ।’कार्की र शर्मा दुई प्रतिनिधिमूलक पात्र मात्र हुन् ।

म्याग्दीमा पछिल्लो समय व्यावसायिकरुपमा आग्र्यानिक विधिद्धारा तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानहरुको संख्या बृद्धि हुँदै गएको छ ।तीन वर्षदेखि पर्यटकीय क्षेत्रको रुपमा विकास भएको लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दुरीमा छ म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीको घर ।

घर अगाडीको २२ रोपनी जग्गामा फलेका छन् गोलभेडा,काउली, बन्दागोपी, मुला, गाजर, सिमी, कांक्रा,साग,प्याज,लसुन,धनिया र अन्य तरकारीहरु । घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोको पसलमा फलफूल र तरकारी राखिएको छ । लभ्लीहिलमा जाने पर्यटकहरु त्यही पसलमा आएर फलफूल र तरकारी किनेर फर्किने गर्छन । कार्कीले करिब २२ रोपनी र शर्माले १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । स्थानीय बजारमा कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ । तरकारी बेचेर कार्कीले मासिक रु ६५ हजार भन्दा बढि र शर्माले रु ५५ हजारको हाराहारीमा आम्दानी गर्नुहुन्छ ।

तरकारी मात्रै होइन यी दुवै कृषकले फलफूल खेती, बाख्रा पालन र माछा पालन पनि एकसाथ गरेका छन् । कार्कीले तरकारीको साथमा केरा खेती र माछा पालन गर्नुभएको छ भने शर्माले बाख्रा पालन गरेर दोहोरो आम्दानी लिन सफल हुनु भएको छ । दुवै तर्फको आम्दानी जोड्दा दुवै कृषकको आम्दानी मासिक १ लाख रुपैयाँ भन्दा बढी हुन्छ ।

अहिले पनि कार्की र शर्माको बारीमा काउली, बन्दागोपी, मुला, गाजर, सिमी, कांक्रा फलेका छन् । सिजन र बेसिजनमा समेत तरकारी उत्पादन गर्ने कार्कीले शुद्ध अर्गानिक तरकारी उत्पादन गर्नुहुन्छ । बारीमा फलेको तरकारीको स्वाद र गुणका कारणले नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको कार्कीको भनाइ छ ।

‘तरकारीमा प्रयोग गर्ने बिषादी कस्तो हुन्छ मलाई जानकारी छैन’ कार्कीले भन्नुभयो ‘रोग किराको नियन्त्रण गर्ने मेरो औषधी गाईबस्तुको गहुँत मात्रै हो ।’ गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोगकिरा मर्ने गरेको अनुभव उहाँसंग छ । कार्कीले उत्पादन गरेको तरकारी आधाजसो तरकारी बारीबाट नै विक्रि हुन्छ भने बचेको उहाँकी पत्नी लक्ष्मी कार्कीले बजारमा पुराउने व्यवस्था मिलाउनु हुन्छ । कार्कीको घरका चार जना परिवार नै तरकारी खेतीमा लागेका छन् ।

एउटै गाउँका यी दुई जना कृषकको देखासिकी गरेर अहिले खवराको गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ । २ सय ४० घरधुरीको बसोबास रहेको खवराका प्रायः सबै मानिसहरु तरकारी र फलफूल खेतीमा लागेका छन्। ‘अहिले खवरा गाउँ नै हरियाली गाउँमा परिणत भएको छ, ताजा र आर्गानिक तरकारी र फलफूलका कारण खवराको परिचय नै फेरिएको छ, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बेनी नगरपालिकाका सचिव एवम् स्थानीय राजकुमार थापाले भन्नुभयो ।

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारीजन्य वस्तुमा पनि किटनासक औषधी प्रयोग गर्दछन् । औषधीले मानिसको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो राख्दैनन् । तर कार्की र शर्माले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन् । बिषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने बिषयमा गाईंगुईं सुनेका कार्कीलाई कहिल्यै पनि तरकारीमा बिषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नपलाएको बताउनुभयो ।

कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग सदरमुकाम बेनी बजारमा धेरै छ । वाहिरबाट आयातित सस्तो तरकारी भन्दा उपभोक्ताले बरु केही रकम बढी तिरेरै भएपनि कार्की र शर्माले उत्पादन गरेको तरकारी खरिद गर्ने गरेका छन् । प्रायः यी दुई कृषकको तरकारी बेनी बजारमै खपत हुन्छ । अझ बजारमा तरकारी पु¥याउन नै हम्मेहम्मे पर्ने गरेको कृषक द्धयको अनुभव छ । ‘बजारमा होस् वा गाउँमा अर्गानिक तरकारी खोज्नेको माग बढ्दै गएको छ’ शर्माले भन्नुभयो ‘मागेजति तरकारी पु¥याउन सकेको छैन ।’ उपभोक्ताको चाहना अनुसारको उत्पादन दिन सके पैसा कमाउन बिदेश जान नपर्ने शर्माको भनाई छ । प्रायः सबै काम आँफैले गर्ने शर्मालाई पछिल्लो समय प्रबिधिले सघाएको छ ।

खेतबारीको खनजोत गर्नका लागि आधुनिक मेसिन आएकाले सहज भएको शर्माले बताउनुभयो । ‘परिवारसँग रमाएर आफ्नै बारीमा कमाएको छु’ अर्का कृषक कार्कीले भन्नुभयो ‘मेहनत गर्न सके कमाउन बिदेश किन जानु ?’ तरकारीको उत्पादनबाट सफलता पाएका शर्मा र कार्कीले पछिल्लो समय फलफुल खेती,माछा र बाख्रा पालनलाई समेत व्यवस्थित गर्ने बताएका छन् । तरकारी बारीबाट नै जीवनमा हरियाली ल्याउन सफल यी दुई कृषकको सिको गरे पैसा र सम्मान दुवै आफ्नै गाउँठाउँमा कमाउन सकिने स्थानीय वुद्धिजीविहरुले बताएका छन् ।

Leave a Reply