आगामी जेठ १ देखि ११ गते सम्म पर्वतमा सञ्चालन हुने विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको प्रचारप्रसारलाई तिब्र पारिएको छ । साविकको धौलागिरी अञ्चल भित्र धार्मिक क्षेत्रको प्रवेशद्धार पर्वत मानिन्छ ।एतिहाँसिक गुप्तेश्वर मन्दिरको प्रचारप्रसार सहित पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा रहेका धार्मिकस्थलको प्रचारप्रसारमा सघाउने उद्देश्यले आयोजित महायज्ञका बारेमा मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित कार्यक्रममा धौलागिरीलाई धार्मिक आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिइएको थियो । विश्वकै अग्लो शिवपार्वतीको मुर्ति स्थापनाका लागि पर्वतमा सम्पन्न हुने महायज्ञलाई चारवटै जिल्लाबाट आवश्यक सहयोग सहित छलफल कार्यक्रम गरिएको गुप्तेश्वर कोटीहोम महायज्ञका संयोजक पृथ्वीनारायण शर्माले बताए । उनले महायज्ञ अगावै एक सय भन्दा बढिले रु १ लाख रुपैयाका दरले दान गरेको बताए ।

एक सय ५१ फिट अग्लो शिव पार्वतीको मुर्ति बनाउनका लागि १ करोड ५१ लाख रुपैया आवश्यक पर्ने भएकाले र १ सय ५१ जना भन्दा बढि संस्थापक समेत बन्न नपाईने नियम बनाए अनुसार एक सय जना संस्थापक बनिसकेको शर्माले बताए । अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन लागिएको हो । देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ । ‘शिव र पार्वतीको संयुक्त मुर्ति स्थापना गरिने छ’ पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । महायज्ञ मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष समेत रहेका शर्माका अनुसार मुर्तिसँगै धर्मशाला र शिश महल समेत निर्माण गर्न लागिएको छ ।

एघार दिनसम्म संचालन हुने महायज्ञबाट१० करोड भन्दा बढि संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको अवसरमा गरिने शिवपूराण सामूहिक तुलादान, गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेलाको तयारीलाई तिब्रताका दिन स्वदेश तथा विदेशमा समेत प्रचारप्रसार गरिएको आयोजकले जनाएको छ । ११ दिन सम्म सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम रहेको छ । महायज्ञमा ६ हजार भन्दा बढी व्यक्तिद्वारा तुलादान तथा १ करोड अग्नी हुमन सञ्चालन हुनेछ । नेपालमा कमै मात्रामा हुने कोटीहोम सहितको तुलादानमा जुनसुकै जातजाती र धर्म सम्प्रदायका व्यक्रिहरुले तुलादान गर्न पाउने भएका छन् ।

आर्थिक रुपमा सक्षम व्यक्तिले पैसा तिरेर तथा विपन्न र असहाय व्यक्तिहरुले निःशुल्क तुलादान गर्न पाउने जनाइएको छ । सुनसरीको चतराधाम जस्तै विश्वभरीका हिन्दु धर्मालम्वीहरुलाई धौलागिरी भित्र प्रवेश गराउन महायज्ञलाई सहयोग गर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनले महायज्ञबाट निर्मित संरचनाले त्यहाँबाट म्याग्दीको गलेश्वर सहितका धार्मिकस्थलमा समेत पुग्ने गरी धार्मिक पर्यटकलाई भित्राउन सहज हुने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य कुविरकुमार श्रेष्ठ सहित संघका पदाधिकारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply