म्याग्दीको उच्च हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी सहित विभिन्न उत्पादनलाई अन्तराष्ट्रिय बजारको खोजी सुरू भएको छ। जिल्लाका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा विस्तार सहित उत्पादनमा स्थानीयको सक्रियतालाई तिब्रता दिने गरी हङकङमा आयोजित चारदिने अन्तराष्ट्रिय बजारमा म्याग्दीको उत्पादनले समेत स्थान पाएको हो ।

म्याग्दीमा पाइने यार्सागुम्बा, सतुवा भीर मह, टिम्बुर, च्याउलाई स्टलमै राखेर विक्री गरिएको छ। नेपाली महावाणिज्य दुतावास र हङकङ नेपाली ब्यापार संघको सहकार्यमा आयोजित ब्यापार मेलामा पछिल्लो समय मुल्यमा गिरावट आएको यार्साको महत्व सहित म्याग्दीको हिमाली तथा तल्लो क्षेत्रमा समेत सहजै विस्तार गर्न सकिने सतुवा, टिम्बुर, भीर र घर महको विक्री भएको हङकङ नेपाली ब्यापार संघका अध्यक्ष प्रकाश पुनले बताए ।

‘म्याग्दीको उत्पादनलाई विदेशीको नजरमा पार्न सफल भएका छौ,‘टिम्बुर र महमा पनि धेरैको चासो देखियो’ पुनले भने । म्याग्दी विकास मञ्चका अध्यक्ष एवम् मोना आइसीका संस्थापक अध्यक्ष समेत रहेका पुनले आधा जीव र आधा वनस्पतीको रुपमा परिचित शक्तिबद्र्धक जडिबुटी यार्सागुम्बालाई बैधानिक बाटोबाटै तेस्रो मुलुकको बजारमा लैजाने सकिने बताए ।

उनले सतुवा, टिम्बुर र महको ब्यवसायीका खेती गर्न सकिएमा ग्रामिण क्षेत्रमा प्रसस्तै आयआर्जनको बाटो खोल्न सकिने बताए । ब्यापार मेलामा म्याग्दीबाट धवलागिरी गाउँपालिका वडा नं ४ मुदीका लिल पूर्जा सहितको टोली पुगेको थियो । जडिबुटी ब्यवसायी समेत रहेका पूर्जाले म्याग्दीको बजारलाई विस्तार गर्न गुणस्तरीय उत्पादन सहित प्याकिङमा ध्यान दिनुपर्ने बताए । चिनियाँले यार्सागुम्बा र महका बारेमा धेरै चासो देखाएको बताउँदै ब्यापार मेलाबाट धेरै अनुभव लिन सकिएको बताए ।

ब्यापार मेलामा सहआयोजक हङकङ नेपाली ब्यापार संघका अध्यक्ष पुनले अन्तराष्ट्रियस्तरका ब्यापारीसँग समेत अनुवभ सुनाउने अवसर दिएको उनको भनाई छ । नेपाल सरकारले जडिबुटी ब्यवसायीलाई प्रोत्साहन सहित बजारकोा सहज वातवारण बनाउन सकेमा टिम्बुर, मह र सतुवाको बजारलाई समेत आक्रमक रुपमा विस्तार गर्न सकिने बताए । म्याग्दीको कोसेलीको रूपमा गुणस्तरीय प्याकिङ गरी बजारमा लैजान म्याग्दी विकास मञ्चले समेत सघाउने भएको छ । म्याग्दीमा बार्षिक २२ केजीसम्म यार्सा संकलन गर्न सकिने अनुमान गरिएको छ । जिल्लाको मुदी, गुर्जा, चिमखोला, कुइनेमंगले लगाएतका क्षेत्रमा यार्सा संकलन गर्ने गरिन्छ ।

Leave a Reply