????????????????????????????????????

करिब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन २–३ दिन पैदल यात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनको लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टा हिँडेर पनि घण्टौँ लाइनमा बस्नु पर्थ्यो । अहिले भने अव ती सबै कुराहरू विगतमा परिणत भएका छन् । म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ ।

अव गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ । गाउँगाउँमा पनि आरसीसी ढलान गरेर पक्की घर निर्माण गर्ने होडबाजी चलेको छ । पाइला अड्याउनै मुस्किल हुने अक्करे भिरलाई फोडेर सररर मोटर गुडेको छ । घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्य चौकी समेत पायक पर्ने ठाउँमा नै बनेका छन् ।

‘एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौँ’ मालिका गाउँपालिका वडा नं ७ बिमका ७४ वर्षीय पलवीर जुग्जालीले भने, ‘हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्थ्यौँ, अहिले पो थाहा भयो विकास भनेको त सुविधा पो रहेछ त ।’

गाउँगाउँमा विकासका पूर्वाधार निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले भने, ‘सुविधाका हिसाबले अव गाउँ र सहरमा खासै फरक रहेन, एक दशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ, सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधाको उपभोग गर्न पाएका छन् ।’

१ लाख १४ हजार ४ सय ४७ जनसङ्ख्या र २ हजार २ सय ९७ वर्ग मिटरमा फैलिएको म्याग्दी जिल्लाका साबिकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा र मुना बाहेक अन्य सबै ठाउँमा मोटर बाटो पुगेको छ ।

स्थानीय तहलाई अधिकार प्रत्याभूत गरिएपछि जिल्ला भित्र विकासका लागि पालिका–पालिकाबीच नै प्रतिस्पर्धा चलेकाले पनि ग्रामीण क्षेत्रमा समेत सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधारहरू पुगेका छन् । विकासका पूर्वाधारसँगै जनताको आय आर्जनमा समेत वृद्धि भएपछि यहाँको ग्रामीण भेगको जीवन शैलीमा पनि उल्लेख्य परिवर्तन देखिन थालेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘लाहुरेहरूको जिल्ला’ भनेर चिनिने म्याग्दीले अव भने आफ्नो परिचय फेरेको छ । यो जिल्ला उद्यमी, कृषक, पर्यटन र जलविद्युतको अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ । लाहुर गएकाहरू पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

बेनी नगरपालिका ३ भकिम्लीका अध्यक्ष पदम पुन भन्छिन्, ‘विकासका पूर्वाधार पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवाहरू बढेका छन् । कतिपय युवाहरू त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायीकरुपमा कृषि र पशुपालनतर्फ लागेका छन् ।’

बदलिँदै जीवनशैली
प्रविधि र पूर्वाधारको प्रयोगले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरूको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन आएको छ । हातहातमा नयाँ नयाँ मोडलका मोबाइल फोन, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इन्चका महँगा टेलिभिजन राखिएको छ । भैँसी बाँध्ने गोठ अव मोटरसाइकल लगायतका सवारी साधन राख्ने ‘पार्किङ’मा परिणत भएका छन् । केवल लाइन नपुगेको ठाउँमा डिस एन्टेना र विद्युत् नपुगेको ठाउँमा सोलार प्यानल राखिएको छ ।

विकासले गाउँ र सहरको दुरी छोटो भएको छ । सहरमा पाइने हरेक कुरा गाउँमै पाइन्छ ।

‘केही वर्ष अघिसम्म गाउँमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो’ विमका ८३ वर्षीय ढकबहादुर जुग्जालीले भन्नुभयो  ‘अहिले घरमै टेलिभिन हेरिन्छ,’ देश विदेशमा कहाँ के भयो सबै कुरा ओच्छ्यानमा बसेर थाहा पाउने भएको छु ।’

गाउँमा खेत जोत्नका लागि हलगोरु पाल्न छोडेको पनि धेरै भयो । खेत जोत्नका लागि मिनिटेलर हलो वा ट्रयाक्टरको प्रयोग हुन थालेको छ । गाउँलेहरू आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन् । घरघरमा ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । बनमा घाँस दाउरा गर्नेहरू एकदमै कम देखिन थालेका र एक दशक अघिका नाङ्गा डाँडा पाखा अहिले घना जङ्गलमा परिणत भएका मालिका गाउँपालिका वडा नं ५ का अध्यक्ष पिपला बुढाको भनाइ छ ।

खानपानमा परिवर्तन 
मगर बाहुल्य म्याग्दीका ग्रामीण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ । उच्च हिमाली क्षेत्रका गाउँहरूका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ । तर ती गाउँका बासिन्दाहरूले  कोदो, मकै र फापर बेचेर चामल खरिद गर्छन् ।

‘हिजोआज गाउँ मै सडक आएको छ,’ मालिका गाउँपालिका ७ बिमकी देउसरा जुग्जालीले भनिन्, ‘बारीमा फलेको कोदो, मकै, फापर र जौ किन्न गाउँमै आउँछन् । जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ । ६० देखि ८० वर्ष उमेर समूहका वृद्धावृद्धको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ । उनीहरूका अनुसार गाउँका पुराना कुरा हराउँदै गएका छन् ।

Leave a Reply