बेलायतको अल्डरसटबाट प्रबेश केसी काउन्सिलर पदमा एक नेपाली यूवा विजय भएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा जन्मिएरका युवा व्यवसायी तथा समाजसेवी केसी बिहीवार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी भएका हुन् ।

बिहीवार राती गरिएको मतगणनामा ३२८ मत ल्याएर लेबर पार्टीको प्रतिनिधित्व गर्दै उठेका इभेट डिन पराजित गरेको एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले बेनीअनलाइनलाई बताए । यता निर्वाचनमा विजय भएपछि केसीले चुनावी अभियानमा नैतिक तथा भौतिकरुपमा सघाउने सबै सहयोगी, शुभेच्छुकहरु, नेपाली तथा सन्चारकर्मीहरुलाई धन्यवाद दिएका थिए ।

रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवारहरु बसोबास गरिरहेकाले समस्यालाई तत्काल समाधान तथा अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पु¥याउन निरन्तर भूमिका खेल्ने बताए । दुईदशक देखि बेलायतमा बसोबास गदैं आएका केसी बेलायती चुनावमा निर्वाचित हुने पहिलो म्याग्देली भएका छन् ।

उनले कन्जरभेटिभको व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेकाले हरेक मतदातालाई सिद्धान्तको प्रत्याभूति दिलाउने बताए । ब्रिटिश सैनिकमा कार्यरत गोर्खाहरुका लागि पनि कन्जरभेटिभ उदार छ । ‘अल्डरसट सेन्टर फर हेल्थ’ प्रोजेक्ट समेत कन्जरभेटिभकै पहलमा बनेकाले पनि केसीप्रति मतदाता उत्साहित भएर मतदान गरेका थिए ।

स्थानीय सरकारले टाउन सेन्टरको ‘रिजेनेरेसन’ का लागि ५०० मिलियन पाउण्ड बजेट समेत छुट्टयाएकाले अल्डरसटबाट लोकप्रिय पार्टीको टिकट पाएपछि सुरुवात देखिनै केसीको पक्षमा लहर नै चलेको थियो । केसी विजय भएपछि अल्डरसटका साथै आसपासका क्षेत्रबाट कन्जरभेटिभ पार्टीका नेताहरू बधाई दिन पुगेका छन् । मोना आइसीका प्रबक्ता तथा नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री समेत हरेका केसी दर्जनको हाराहारीमा नेपाली संघसंस्थामा आवद्ध रहेका छन् ।

Leave a Reply