बेनी नगरपालिका वडा नं ६ बास्बोटका लक्ष्मीप्रसाद जैशी सरकारले बृद्धबृद्धाहरूका लागि दिदैं आएको सामाजिक सुरक्षा भत्ता बढाउनेमा विश्वस्त छन् । चुनावमा घरदैलोमै भोट माग्न पुगेका उम्मेदवार र दलका कार्यकर्ताले मासिक ५ हजार भत्ता घरदैलोमै आउने आश्वासन पुरा नभएको भन्दै बास्वोटकै डण्डपानी पौडेलले भत्ताले सरकारको बोलीको परिक्षा लिएको बताए । ‘भत्ता बढाउने प्रतिबद्धता प्रधानमन्त्रीबाटै पटकपटक आएको छ,‘हल्लामात्रै भए हामीलाई केही भन्नुछैन’ पौडेलले भने ।

बुढापाकालाई सरकारको आश्वासन पुरा हुने भन्दै स्थानीय नेता तथा कार्यकर्ताले समेत अवको बजेटमा भत्ता पाँच हजार पुग्ने बताउने गरेको पौडेलको भनाई छ । गाउँघरमा सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीलाई बुढापाकाले भत्ताका बारेमा चासो देखाउने गरेको बताउँदै भत्ता बढेमा सरकारको प्रतिबद्धता पनि पुरा हुने उनीहरुको भनाई छ । जेष्ठ नागरिकलाई दिदैं आएको सेवा सुविधा महँगी, औषधी उपचार सहित अन्य घरायसी कामका लागि अपुग भएको बताउँदै प्रतिबद्धता पुरा गर्नुपर्ने भगमती किसानले बताईन्। ‘हामीलाई खर्च नै पुग्दैन्, सुकुम्बासीलाई भत्ताको पैसाले छेउ पनि हुदैन’ किसानले भनिन् ।

बृद्धबृद्धा, अपाङ्ग भएकाले निशुल्क उपचार, सवारी साधनमा छुटका साथै गाउँमा दिउँसो समय विताउने विश्राम कक्षको आवश्यकता रहेको समेत बृद्धबृद्धाको भनाई छ । भत्ता लिन सदरमुकाम बेनीका वित्तिय संस्थामा जानुपर्ने अवस्थाको समेत अन्त्य गदैं गाउँमै वितरणको सुविधालाई नियमित गर्न समेत माग गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा सञ्चालित बैंकले समय समयमा गाउँमै पुगेर भत्ता वितरण गर्ने गरेपनि निरन्तरता पाउन नसकेको अवस्थामा भत्ता लिन जाँदा यातायात खर्च, सहयोगी सहित अन्य खर्चले भत्ता बाटोमै सकिने गरेको गुनासो बृद्धबृद्धाको छ ।

नेताहरूको चिल्ला भाषणबाट उमेरले डाँडापारिको घाम बनेका बृद्धबृद्धा समेत चकित परेको बताउँछन् । समान्य सर्वसाधारणजस्तै भत्ता बढाउने भन्दै उर्लिएर आउने गरेपनि भत्ता सहित अन्य सेवासुविधामा कुनै परिवर्तन नआएको भन्दै बृद्धबृद्धा निराश हुने गरेको यूवापुस्ताको भनाई छ । शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाभत्ता बढ्ने उल्लेख गरिएको छ । तस्वीरमा बेनपा–६ जामुनाखर्ककी फुलमती सर्किनी । 

Leave a Reply