‘मनमा दुःखको सागर उर्लिएकै भएपनि
छोडेर सन्तान्लाई घरमा माइती गाउँ गएपनि ।
सन्तानको भोक देख्दछिन्,खानाको गासगासमा
छोराछोरी अटाउछन् आमाको साससासमा ।।’
शुक्रवार बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भाबना शेरवुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए ।
माता तीर्थ औंसी अर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ जना छात्र–छात्राहरुले आमाको महिमा,आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए ।
‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु
आमाका शब्द संगाली महाकाब्य म लेख्दछु ।’
कक्षा १० का छात्र रोहित थापाले ‘आमा’ शीर्षकको यो कविता वाचन गर्दा विद्यार्थी मात्रै होइन शिक्षक÷शिक्षिकाहरु समेत दङ्ग परे । सबैको एउटै कामना थियो सबै छोराछोरीको विहे पछि र कमाउने भएपछि पनि आमा बाबाप्रति यस्तै भावना,विचार र व्यवहार भैदिए हाम्रो समाजमा बृद्धावस्थामा कोही पनि आमाबाबाहरु निराश हुनुपर्ने थिएन । कहि कतै बृद्धाश्रम बनाउनु पर्ने पनि थिएन ।

तर कवितामा पोखिएका भाव र विचारहरु व्यवहारमा भने लागु गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहारा विहीन भएका आमाहरु आज बृद्धाश्रममा भेटिने गर्दछन् । प्राण जत्तिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बुढेसकाल वा अशक्त अवस्थामा अपहेलना गर्छन् त्यति बेला जुनसुकै आमाको मन पनि कुडिने कुरा छात्रा काजल केसीले आफ्ना कविताका हरफमा यसरी व्यक्त गर्नुभयो–
बृद्धाश्रम बने किन ? सन्तान हो, भन्न सक्दछौ ?
आँफ्नै आमालाई हेंला,सन्तान हो किन गर्दछौ ?
बूढेस कालको व्यथा तिमीले पनि भोग्ने छौ
त्यति बेला अनि तिमी आमाको दुख देख्ने छौ ।।
काजलका कविताको यो हरफमा व्यक्त भएका शब्दहरुसंग नेपाली समाजको यथार्थता मेल खाएको शिक्षक विरबहादुर गुरुङले बताउनुभयो । ‘आफ्नै आमाबाबाप्रति अशहिष्णु बन्ने व्यक्ति समाज र देशका लागि सहिष्णु र जिम्मेवार बन्नै सक्दैन’ गुरुङले भन्नुभयो ।

छोराछोरीको रेखदेख र स्याहार सुसारमा बुढ्यौली जीवन कटाउने मीठो अपेक्षामा रहेका आमाहरुले सबैभन्दा दुःखको अनुभूति त्यतिवेला गर्छन्,जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ । मातापितालाई देबता सरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहे पनि त्यो व्यवहारमा भने लागु हुन नसकेको ८४ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

विद्यार्थीहरुले कवितामा व्यक्त गरेका भाव र विचारहरु वयस्क मानिसले व्यवहारमा उतार्ने हो भने संसारका कुनै पनि आमाले दुःख पाउनु नपर्ने र आफ्ना सन्तानप्रति कुनै गुनासाहरु नआउने शिक्षक प्रेम शाही ‘समुन्द्री’ले बताउनुभयो ।
कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भावना शेरबुजाले आमाको तुलना संसारका कुनै चिजसंग गर्न नसकिने बताउँदै भन्नुभयो–
‘संसारमै छ सबै चिज,खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइदैन कसै गरी ।’ यो हरफ मलाई असाध्यै मन पर्ने कविताको हरफ हो ।’

 

Leave a Reply