म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बंगुरपालन तथा कुखुरापालन तालिम शुक्रबार सकिएको छ । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा गत सोमबारदेखि बंगुर तथा कुखुरापालन तालिम सञ्चालन गरिएको थियो ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ । तालिम समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरुमाथि हिंसा हुने गरेकाले आयआर्जन र व्यवसायिकमूलक क्षेत्रमा लाग्नुपर्ने बताइन् ।

उनले तालिम आत्मनिर्भर बन्न सहयोगी हुने बताउँदै तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष देवी केसी, तालिमका प्रशिक्षक पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेल, पत्रकार प्रताप बानियाँ, सहभागीद्वय उषा किसान र गोमा थापाले मन्तव्य राखेका थिए ।

तालिमको पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेल र पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले सहजीकरण गरेका थिए । ५ दिनसम्म चलेको तालिममा सहकारीमा आबद्ध दलित तथा विपन्न वर्गका ३० जना महिला शेयर सदस्यहरुले सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा तालिमका सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमको समापनसत्र सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता र लेखा संयोजक पशुपति शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply