भनिन्छ नी ! आमा जगत जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुखः कष्टलाई थिचोल्दै आफ्नो कोखमा राखेर सन्तानलाई जन्म दिन्छिन् । धर्यवान् र सहनशील भएर गर्भावस्थानको अप्ठ्यारोमा आफ्नो सन्तानलाई यो धर्तीमा पाईला टेकाउँछिन् । दुई अक्षरले निर्मित प्रिय शब्द आमाको सन्तानप्रतिको जिम्मेबारी अनगिन्ती छ । तर, आमाको महत्वलाई नबुझ्नेहरूले अझैपनि जन्मदिने आमालाई बृद्धआश्रम रोज्ने गरेका छन् ।

जसको एउटा उदाहरण, म्याग्दीको गलेश्वरधाममा अवस्थित बृद्धआश्रमलाई लिन सकिन्छ । कैलाली जिल्लाको तुला गिरीका घरमा छोराछोरी भएपनि बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित बृद्धआश्रम बस्छिन् । श्रीमानसंगै कैलालीबाट आएकी उनले श्रीमानलाई आश्रममै गुमाईन् । उनले मातातीर्थ औंसी छोराछोरीलाई सम्झिएर आश्रमभित्रै मनाउँछिन् । आफ्नो पुरानो नाम कलावती सापकोटालाई भगवानलाई चढाएर पुरानो नाम र परिचय नै परिवर्तन गरी आश्रममा जिन्दगी विताइरहेकी तुलालाई आमाको मुख हेर्ने दिन र दसैंमा घरको याद आउँछ।

तिर्थ लैजान्छु भनेर छोराबुहारीले गलेश्वरमा अलपत्र छोडेपछि आश्रममै दिन काट्दै गरेकी तुला जस्तै आश्रमभित्र रहेका जेष्ठ नागरिकलाई चाडपर्वमा कसैले उपहार दिएमा छोराछोरी सम्झिएर भक्कानिन्छन् । ‘छोराछोरी छन्, परिचय फेरिएको छ, अब जवाफ दिनु छैन’ तुलाले भनिन् । उनले आफ्नो परिवार भएपनि आश्रमबाटै प्राण त्याग गर्ने चाहना रहेको बताउँदै छोराछोरीको बदनाम हुने चिन्ताले नाम सार्वजनिक गदैनन् ।

गृहस्थी जीवन त्यागेर आश्रममा पुगेका बृद्धबृद्धाले चाडपर्वमा सकेसम्म कालिगण्डकीमै स्नान गरेर, गलेश्वरमा पुजा गरेर मनाउँछन् । ‘सबै चाडपर्व कालिगण्डकी नदीमै बगाइदिएको छु,‘चाडपर्वको चिन्ता लाग्न छोड्यो’ एक बृद्धाले भनिन् । घरमा छोराबुहारी भएपनि आश्रममा जीवन विताउनुपरेको बाध्यतासँगै तिज, दशैंतिहार र मातातीर्थ औंसीमा मन थामिदैन् । रहर नभई बाध्यताले आश्रममा आएपनि आफ्नो छोराछोरीको इज्जतका लागी पुराना दिनलाई विर्सने प्रयास गरेको नारायणी गिरीले बताईन् ।

‘अहिले आश्रम आफ्नै घरजस्तै भएको छ,‘चाडपर्व आउँदा विगतको सम्झना आएपनि चिन्ता लाग्न छोड्यो’ गिरीले भनिन् ।आश्रममा घरपरिवार भएका करिव १० जना रहेको गलेश्वर अन्नदान आश्रमका सचिव शिव सुबेदीले बताए ।‘उहाँहरुले बाहिर पीडा पुख्नुहुदैन्,‘धेरै समाचारमा आउन थालेपछि केहीले चाडपर्वमा आएरै लैजान्छन्’ सुबेदीले भने ।उनका अनुसार आश्रममा करिव ५५ जना बृद्धबृद्धा रहेका छन् । आफ्ना छोराछोरी भएपनि समाजमा गलत सन्देश जान सक्ने भन्दै लुकाउने गरेको सुबेदीको भनाई छ । ‘अहिले केही घर जानुभएको छ,‘छोराबु्हारीले आश्रममा पठाएपनि नाती आएर लैजान्छन्’ सुबेदीले भने ।

उनले चाडपर्वमा फोनबाटै भएपनि सम्झिएमा खुसी हुने बताए । पर्वतकी ओमकुमारी लामिछानेका बारेमा पटकपटक समाचार आएपछि चाडपर्वा आफन्तले लैजान थालेको उनको भनाई छ । चाडपर्वमा केही दिनलाई लिन आउनेहरु पुनः आश्रममै फर्किने गरेका छन् । आश्रममा बसोबास गर्ने बृद्धबृद्धालाई रेखदेख र सरसफाईका लागि कर्मचारी समेत खटाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भीमनाथ पराजुलीले बताए ।

‘केही निर्दयी छोराछोरी पनि भेटेका छु,‘घुमाउन ल्याएर आश्रममै छोडेर गएका पनि छन्’ पराजुलीले भने। उनले समाजमा हेला गर्लान र हेप्लान भन्ने डरले आफ्नो पीडा लुकाउने गरेपनि आफुँलाई खुलेर समस्या सुनाउने गरेको बताए । आश्रममा घरपरिवार भएपनि आफु खुसी नै आएर बस्नेहरु पनि भएको उपाध्यक्ष पराजुलीको भनाई छ। मुक्तिनाथ मन्दिरको प्रवेशद्धार समेत मानिने गलेश्वरमा बसोबास गर्ने जेष्ठ नागरिकलाई विभिन्न क्षेत्रबाट आएका तिर्थयात्रीका साथै ब्यक्तिगत तथा संस्थागत रुपमै सहयोग गर्ने गरेका छन् । आश्रममा निशुल्क भोजनको सुविधा समेत छ ।

Leave a Reply