प्रचुर पर्यटकीय सम्भावना बोकेको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा होमस्टे (घरबास)तालीमा सञ्चालन गरिएको छ । मंगला गाउँपालिकाको आयोजनामा सुरू भएको तालिमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न पूर्वाधारको विस्तार गर्नुपर्ने बताए । ‘पूर्वाधारले पनि पर्यटकलाई आर्कषित गर्न सकिन्छ,‘मिठो परिकार, न्यानो स्वागतले पर्यटक भित्राउने आधार हुन्’ रोकाले भने ।

उनले बरंजाको झाँक्रीपानी, दहताल, चिनाकोट दरबारको प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटकको गन्तब्य बनाउन सकिने बताए । गाउँपालिकाले झाँक्रीपानी र टोड्केमा आउने पर्यटकलाई लक्षित गरी होमस्टे तालिम सञ्चालन गर्ने बताए । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेको टोड्केमा आवतजावत गर्ने पर्यटकलाई लक्षित गरी पूर्णगाउँमा होमस्टे तालिम सञ्चालन गरिने अध्यक्ष रोकाको थियो ।

तालिमको अवसरमा वडा नं ३ का कविन रोका , वडा नं ४ का वडा अध्यक्ष ओम बहादुर रोका, बरंजा स्वास्थ्य चौकीमा अहेव बबरजंग पालले समेत मन्तब्य राखेका थिए । बैशाख २० देखि २४ सम्म होमस्टे ब्यवस्थापन र २५ देखि २९सम्म कुक तालिम सञ्चालन गरिने छ । तालिमको अध्यक्षता कमल थापा र सञ्चालन डिमेगा पर्वतकी सिता शर्माले गरेकी थिईन् । गाउँमै होमस्टे कार्यक्रमका लागि तालिम सञ्चालन भएपछि झाँक्रीपानीबासी उत्साहित भएका छन् । गाँउको पर्यटन प्रर्वधनका घरबासले नयाँ आशा जगाएको स्थानीय महिलाको भनाई छ ।

अर्गानिक खाना,रैथाने संस्कृति बुझ्न, हेर्न चाहने पर्यटकलाई लक्षित गरी पदमार्ग,भ्यूटावर र एकिकृत सामुदायिक भवन लगाएतका पूर्वाधारहरु निर्माण गरिरहेका छन् । आँखै अगाडी अग्ला पहराबाट हिमालका दृष्यहरू ठोकिन्छन् । आसपासमा रहेका अग्ला पहाड, ग्रामिण बस्ती सहित आसपासमा रहेको लालीगुँरासको मनोरम दृष्यले समेत पर्यटकलाई आर्कषित गर्ने भएकाले होमस्टे तालिमले थप सहज भएको स्थानीयको भनाई छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित झाँक्रीपानीमा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले समय वितेको पत्तै हुदैन् ।

Leave a Reply