जातीय भेदभाव गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५ भेडीखाल्टामा कुटपिट र दुब्र्यवहार गर्ने स्थानीय ३५ बर्षिय बल बहादुर रोका र ३० बर्षिय तिजेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । गत बैशाख ५ गते भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मालाई कुटपिट गरी फरार भएका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला अभियुक्तद्धयले विभिन्न खालका जातीय आक्षेप आउने खालका शब्दहरू प्रयोग गरी गालीगलौज, धम्की दिई हातपात समेत गरी घाईते बनाएको किटानी जायरीपछि प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरिक्षक धुव्रप्रसाद शर्माले बताए ।

उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए । कुटपिटमा संलग्नलाई जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अन्तर्गत मुद्धा दर्ता गर्ने तयारी भइरहेको छ । जातीय छुवाछुतसम्बन्धी मुद्दामा एक वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । File photo

Leave a Reply