जिल्लाका ग्रामिण सडक अत्यन्त साँधुरो र जीर्ण छन् । अक्केर भीर चिरेर बनेका सडकमा दैनिकजसो यात्रुले जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् । जिल्लाको ग्रामिण क्षेत्रमा चल्ने सवारीसाधनले सिट क्षमताभन्दा चार गुणा बढी यात्रु राख्दा सडक दुर्घटनाको जोखिम बढेको छ । नियमित अनुगमनको अभावका कारण सदरमुकाम बेनी हुदै जिल्लाका ग्रामिण क्षेत्रमा दैनिकजसो खचाखच यात्रु लिएर जाने सवारीसाधनले मनपरी भाडा, छत र ढोकामा समेत यात्रु राखेर ओसार्ने गरेका छन् ।

ट्याक मात्रै खोलिएका जिल्लाका सबैजसो सडकमा निजी तथा सार्वजनिक भाडामा सवारीसाधनले दर्ता प्रमाणपत्रमा उल्लेखित सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले दुर्घटनाको जोखिम बढेको यात्रुकै गुनासो छ । ‘यात्रुले पनि जवरजस्ती चढ्ने गरेका छन्, पिपलको पातमा ज्यान राखेर यात्रा गरेजस्तै हुन्छ’ एक यात्रुले बेनीअनलाइनलाई भने ।उनले समयमै सिटमा बसेका यात्रुले प्रस्ताव चालक र सवारीधनीले बेवास्ता गर्ने गरेको बताए ।

५–६ सिटको क्षमता भएका सवारीसाधनमा समेत २५ जनासम्म राखेर यात्रा गर्ने गरेकाले प्रभावकारी अनुगमन नहुदाँ दुर्घटनाको जोखिम बढेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा सामान ढुवानी गर्ने सवारीसाधनहरूले नियमित यात्रु बोक्ने गरेका छन् ।  यता म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले ग्रामिण सडकमा छत भरि यात्रु राखेर चलाउने सवारीसाधनलाई निगरानी गरिएको बताए । ‘नियमविपरितका सवारीसाधनलाई कारवाही गरिन्छ,‘कमाउने नाममा यात्रुलाई जोखिम पार्न पाइदैन्’ उनले भने ।

यात्रुले समेत क्षमताभन्दा धेरै यात्रु बोक्ने प्रयास गर्ने सवारीसाधनका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन समेत प्रनाउ मरासिनीले अनुरोध गरे । जिल्ला ट्राफिक प्रहरीले समेत ठाउँठाउँमा कारवाही गरेको अवस्थामा ट्राफिक प्रहरी नजिक केही वर रोकेर यात्रु ओरालेर हिँडाउने र पुनः छत र भित्र कोच्ने गरेकाले समस्या भएको बताउँदै ग्रामिण रुटमा प्राथमिकताका साथ अनुगमन भइरहेको जनाएको छ । जिल्लामा पछिल्लो एकदशक यताका दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा धेरै यात्रु र कच्ची सडक नै देखिएको छ ।

Leave a Reply