म्याग्दीको विकट गुर्जाबासी यार्सा टिप्न उच्च हिमाली क्षेत्रतिर जाने क्रम सुरू भएको छ । आधा जीव र आधा वनस्पतीको रुपमा परिचित शक्तिबद्र्धक जडिबुटी यार्सागुम्बा खोज्न एउटा समुह गूर्जा हिमालतर्फ लागेको स्थानीय गोर्खा छन्त्यालले बेनीअनलाइनलाई बताए । उनका अनुसार गाउँबाट करिव एकदिनको दुरीमा अवस्थित गूर्जा हिमाल आसपासका क्षेत्रमा पाईने यार्सा संकलन गरी स्थानीय विक्री गर्ने गरेका छन् ।

विगतमा यार्सा टिप्ने जानेहरू गुर्जा हिमाल आसपासका क्षेत्रमै बसेर करिव १० देखि १५ दिनसम्म यार्सा संकलन गर्ने गरेका थिए । गुर्जाको पुरानबुकी,नाउरे, थारखोला, बौरबास,दोथेबास लगाएतको क्षेत्रमा पाइन्छ। गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिँदै जाने र जमीनबाट झुसिल कीराजस्तै यार्सा उम्रिने गरेपछि गुर्जाबासीले समुह बनाएर हिमालको फेदमा जाने गर्दछन् ।

स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा संकलनमा पछिल्ला केहीबर्ष यता विद्यार्थीलाई रोक लगाइएको छ । गाउँमा रहेको सामुदायिक विद्यालयमा विद्यार्थी समेत अभिभावकसँगै जाँदा करिव एक महिना पठनपाठन प्रभावित हुने गरेको भएपनि पछिल्लो समय बालबालिकालाई यार्सा संकलनमा जान नपाउने गरी जनप्रतिनिधिले नै कडाई गरेका छन्। बैशाखको दोस्रो सातादेखि जेठ महिनासम्म गुर्जा, मुदी लगाएत उच्च हिमाली क्षेत्रका बसोबास गर्नेहरु लेकमा जाने गर्दछन्।

पछिल्लो समय जलवायू परिवर्तनको कारण अपेक्षा गरे अनुसार संकलनमा समस्या हुने गरेको स्थानीयले बताए । गतबर्ष यार्सा पाईने क्षेत्र हुदै ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणमा निस्किएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगीको हिमआँधीका कारण ज्यान गएको थियो । बेसक्याम्प नजिक टेन्टमा बसेका आरोही सहितको ज्यान गएको क्षेत्र आसपासमै स्थानीयले यार्सा संकलन गर्ने गर्दछन् ।

जिल्लाको उपल्लो भेगमा पाईने एक किलो यार्सामा ३५ सय देखि ४ हजार बुटी हुने गरेको डिभिजन बन कार्यालयले जनाएको छ । हिमाली क्षेत्रका बासिन्दाको जडीबुटी प्रमुख आयस्रोत मानिन्छ । जिल्लाको मुदी, गुर्जा, चिमखोला, कुइनेमंगले, नारच्याङ, शिख लगाएत उच्च हिमाली क्षेत्रमा यार्सा पाईन्छ ।

Leave a Reply