रघुगंगा गाउँपालिका–३ दुलेपानीका ७ बर्षिय निरोज विकको स्वर कुनै गायकभन्दा कम छैन् । विपन्न परिवारका जन्मिएका विकले कुनैपनि नेपाली गीत दुईतिन पटक सुनेपछि कलात्मक तरिकाबाटै प्रस्तुत गर्ने विक रघुगंगा गाउँपालिका वडा नं २ मुक्तिधाम माविको कक्षा ३ मा अध्ययरत छन् । विना कुनै तालिम गाउँघर र विद्यालयमा आयोजित कार्यक्रममा बाल कलाकारले सार्वजनिक गरेका गीतमा विकको सुमधुर आवाजले भाबुक बनाउँछ ।

केहीदिन अगाडी विद्यालयको ७० औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी लगाएतका अतिथिहरूको उपस्थितीमै चर्चित बालगायक अशोक दर्जीको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’बोलको गीतमा छिमेकी प्रकाश विकसँगै दमदार प्रस्तुती दिएका निरोजले हरेक अतिरिक्त क्रियाकलापमा गीतमार्फत आफ्नो क्षमता प्रस्तुत गर्ने गरेका छन् ।

चरम गरिबीका कारण दुईबर्षसम्म घर खर्च जुटाउन ट्याक्टरमा सहचालक भएका प्रकाशले समेत निरोजलाई साथ दिने गरेका छन् । विद्यालयको कक्षा ९ मा अध्ययरत प्रकाशको आवाज समेत दमदार छ । आर्थिक रुपमा गरिब भएपनि निरोज र प्रकाशको सुमुधुर आवाजमा जम्नेहरू धेरै छन् ।‘उनीहरूमा कलात्मक आवाज छ,‘गरिबीकै कारण प्रतिभालाई पहिचान गर्न सकिएको छैन’ विद्यालयका शिक्षक राम्जी भण्डारीले भने ।

उनले प्रकाश पढाईमा समेत अब्बल भएपनि नियमित विद्यालयमा आउन नसक्ने अवस्थाका कारण दुईबर्षसम्म ट्याक्टरमा सामान ढुवानीको काम गरेको बताए । गायनका साथै अभियनमा समेत रुची रहेका दुवैलाई आर्थिक सहयोग सहित उचित वातावरण भएमा गायनको क्षेत्रमा ठूलै उपलब्धी गर्न सक्ने भण्डारीको भनाई छ । प्रकाश र निरोजको जस्तै स्वर भएका धेरै बाल गायक सडकबाटै सफल गायक भएको अवस्थामा आर्थिक तथा संगीतको क्षेत्रमा सहयोग भएमा उनीहरूलाई सहज हुने स्थानीयको भनाई छ ।

‘गायन र पढाईलाई सँगसँगै लैजान्छु,‘संगीतकै क्षेत्रमा धेरै गर्ने सोच छ’ प्रकाशले भने । माध्यामिक तहको पढाई सकिएपछि आर्थिक सहयोग प्राप्त भएमा काठमाण्डौमा संगीत शिक्षा लिने चाहना समेत ब्यक्त गर्ने गरेका छन् । लोक, आधुनिक तथा शास्त्रीय किसिमका संगीतहरूमा समेत कलात्मक आवाज दिने प्रयास गर्ने दुवै बालकलाई आर्थिक सहयोग सहित स्थानीय तहले समेत प्रोत्साहनको वातावरण बनाउन सकेमा गाउँपालिकाकै गहनाको रुपमा प्रस्तुत गर्न सकिने विद्यालयका शिक्षकको भनाई छ ।

Leave a Reply