उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सम्पूर्ण वडाभित्र मेलमिलाप केन्द्र स्थापना गरिएको छ । न्यायिक समितिले वडातहमै विवाद समाधान सहित मेलमिलापकर्ता मार्फत कानुनी सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न केन्द्रको स्थापना गरिएको हो । गाउँपालिकाको वडा नं ८ राम्चेबाट सुरू भएको केन्द्र स्थापना सहितको कार्यक्रम मंगलबार वडा नं ६ घारमा औपचारिक कार्यक्रम गदैं समापन भएको न्यायिक समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले बताईन् ।

‘मेलमिलापकर्ताको जिम्मेबारी थपिएको छ,‘न्यायको पहुँच घरघरमा पु¥याउन सहज भएको छ’ मगरले भनिन् । वडास्तरमा सूचिकृत मेलमिलाकर्ता मार्फत विवाद समाधानमा न्यायिक समितिले सहजीकरण गर्ने मगरको भनाई छ ।

मेलमिलापकर्ताको काम, कर्तब्य र अधिकारभित्र रहेर वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएकाले समान्य विवादलाई गाउँपालिका तथा जिल्लासम्म जानुपर्ने अवस्थाको अन्त्य भएकाले समस्याको सहजीकरणमा मेलमिलापकर्ताले समेत जिम्मेबारी पुरा गर्नुपर्नेमा न्यायिक समितिले जनाएको छ । गाउँपालिका भित्रका ८ वटै वडामा ३६ मेलमिलापकर्ता छन् ।

वडास्तरमा जनप्रतिनिधि सहित माध्यामिक तहको शिक्षा पुरा गरेका कम्तिमा तीनजना मेलमिलापकर्ता हुनुपर्ने भएकाले पनि केही वडामा ३ जनाभन्दा धेरै मेलमिलापकर्ता रहेको समितिले जनाएको छ । स्थानिय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउँदा पक्ष र विपक्ष दुवै र समाजले जितको महसुस हुने भएकाले पनि मेलमिलापकर्ताको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको स्थानीयको भनाई छ ।

विवादका पक्ष र विपक्ष बीचको जीत नै समाज एकताको बलियो आधार भएकाले मेलमिलाप केन्द्रको स्थापनाले सहज भएको वडाका जनप्रतिनिधिको भनाई छ । समितिको गठनको क्रममा फर्निचर, कानुनका किताव, स्टेशनरी सहितका साम्रागी उपलब्ध गराइएको थियो । यसैबीच गाउँपालिकास्तरीय न्यायिक समितिको बैठकले इजलास सहितको संरचना बनाउने कार्यलाई तिब्रता दिने जनाएको छ । उपाध्यक्ष मगरको संयोकत्वमा रहेको समितिको सदस्यमा क्याप्टेन रविन्द्र गर्बुजा र बुद्धि बहादुर पुन रहेका छन् ।

Leave a Reply