म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा ‘फापरको ढिँडो र म्याग्दीखोलाको असला माछा’ पर्ने गरेको छ । विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइमा पर्न गएको हो ।

तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलहरुमा पछिल्लो समय फापरको ढिँडो र असला माछाको व्यापार फस्टाउँदै गएको छ । स्वास्थ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दीखोलाको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् । खासगरी म्याग्दीखोलाको माछा मीठो हुनेहुँदा मुस्ताङको फापरको ढिँडोको बिक्री ह्वात्तै बढेको हो ।

तातोपानीका होटलमा दिनहुँ फापरको ढिँडो र म्याग्दीखोलाको माछाको परिकार पाक्ने गरेको छ । सिङ्गा र तातोपानी क्षेत्रमा गहुँ अत्यधिक उत्पादन हुने भए पनि गहुँको ढिँडोभन्दा फापरको ढिँडो नै धेरैले मन पराउने गरेको तातोपानीका होटल व्यवसायीहरु बताउँछन् । फापरको साथसाथै अलिअलि कोदो, मकै र गहुँको पनि ढिँडो बिक्री हुने गरेको छ । ढिँडो र माछासँगै तातोपानीका होटलहरुको भान्सामा लोकल गौरिया, बासमति चामलको भात पाक्ने गर्दछ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पाइन्छन् ।

तातोपानीका युवाहरुले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्दै आइरहेका छन् । सिजन अनुसार माछालाई प्रतिकेजी १ हजारदेखि १२ सय रुपैयाँसम्म खरिद–बिक्री हुन्छ । प्रति पिलेट सुप र फ्राई गरिएको माछाको तीनसय रुपैयाँ मुल्य रहेकोमा फापरको ढिँडो र माछाको चारसय २५ रुपैयाँ मुल्य तोकिएको छ । खाजाको रुपमा पनि फापरको रोटी र तरकारी समेत बिक्री हुने गरेको छ ।

तातोपानीका होटलहरुमा म्याग्दी होटल तथा रेष्टुरेण्ट संघ इकाई समिति तातोपानीले खाना तथा खाजासहित विभिन्न परिकारहरुको मुल्यसुची निर्धारण गरेको छ । तातोपानी कुण्ड स्नान गर्न आउने बिरामी तथा भ्रमणमा आउनेहरुले फोनबाटै फापरको ढिँडो र माछाको अर्डर गर्ने गरेको तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताइन् । विगत १० वर्षदेखि तातोपानीमा होटल चलाउँदै आएकी उनले भनिन्, ‘पहिलेपहिले माछा मात्रै बिक्री हुन्थ्यो तर, तीनचार वर्षदेखि भने माछासँगै फापरको ढिँडो पनि बिक्री हुन थाल्यो ।’‘अहिले त फापरको ढिँडो नपाकेको दिन नै हुँदैन, धेरैजना ढिँडो खानकै लागि भनेर आउनुहुन्छ त्यसैले ढिँडो धेरै बिक्री हुन्छ’ उनले थपिन् ।

तातोपानीका होटलमा लोकल चामलको भात, स्पेशन थकाली खाना, असला माछा पाइनुका साथै फापरको ढिँडो बनाइने होटल शेरचनका प्रोप्राइटर मोनिका श्रेष्ठले बताएकी छिन् ।तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटलहरु थपिएका छन् । तातोपानी कुण्डकै कारण तातोपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गैरहेको छ । यस क्षेत्रमा बस्नका लागि होमस्टेको विभिन्न प्याकेजमा व्यवस्था पनि रहेको छ । तातोपानी बजार क्षेत्रमा मात्रै सानाठूला गरी १५ ओटा होटलहरु सञ्चालनमा रहेको रेष्टुरेण्ट इकाई समिति सचिव कुमार केसीले जानकारी दिए ।

Leave a Reply